सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न थालेको छ ।

काठमाडौं — जेन–जी आन्दोलन चलिरहँदा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न थालेको छ । सार्वजनिक भइरहेका भिडियोहरूमा यस्ता कार्यमा राजनीतिक दलका नेता–कार्यकर्तासमेत संलग्न रहेको देखिएको छ । जेन–जी आन्दोलन सुरु भएको भोलिपल्ट मंगलबार संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका सार्वजनिक संरचना जलाइएका थिए । यस्तो काममा जेन–जी (१३–२८ वर्ष) भन्दा पनि अधिकांश पाका उमेरका व्यक्ति रहेको पाइएको छ ।धेरैतिर लुटपाटसमेत मच्चाइएको थियो । यस्ता अराजक कार्य गर्न उद्यत युवामध्ये कतिपय त खुँडाखुकुरीसहित उत्रिएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता कैलाश कटुवालले जलिरहेको सिंहदरबारभित्र आफूहरू सफल भएको भन्दै खुसी व्यक्त गरेको भिडियो सार्वजनिक भएको छ ।आगो लाग्दै गर्दा माओवादीनिकट युवा नेता विष्णु ढुंगेल सर्वोच्च अदालत परिसरमा देखिएका छन् । उनी नेपाल ल क्याम्पसका अखिल क्रान्तिकारीबाट निर्वाचित पूर्वस्ववियु सभापति हुन् । सर्वोच्चमा आगो लाग्दै गर्दा उनी आक्रामक देखिन्छन् । अदालत परिसरमै एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘सर्वोच्च अदालतका भ्रष्टाचारीहरूलाई छोड्नु हुँदैन,ढुंगेलले यस्तो अभिव्यक्ति दिएको केही समयभित्रै तोडफोड सुरु भएको थियो ।माओवादीनिकट संगीतकार चेतन सापकोटा मंगलबार सिंहदरबार जल्दै गर्दा त्यहीँ देखिएका थिए । सिंहदरबारभित्र आक्रामक शैलीमा औंला ठड्याएर कसैलाई गाली गर्दै गरेको उनको फोटो सामाजिक सञ्जालमा जताततै भेट्न सकिन्छ । फोटोमा उनले एक साइडमा नेपालको झन्डा बोकिरहेको देखिन्छ । सिंहदरबारमा आगो लगाउन उक्साएको आरोप उनीमाथि लागिरहेको छ । टिकटकमा ४ लाख ६६ हजार फलोअर्स रहेका मनोज केसीले जलिरहेको संसद् भवन अघिल्तिर नेपालको झन्डा ओढेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गाड्नुपर्छ’ भन्दै गाली गरिरहेको भिडियो टिकटकमा पोस्ट गरेका छन् ।
युट्युबर भाग्य न्यौपानेलेभिडियोमार्फत नख्खु कारागार जान उक्साएको केहीबेरमै भीडले कारागार पुगेर लामिछानेलाई बाहिर निकालेको थियो । भीडले नख्खु कारागारमा आगजानी पनि गरेको थियो । कारागारमा १ हजार २ सय ८४ जना कैदीबन्दी थिए । उनीहरू त्यो दिन भागेका थिए ।न्यौपानेले त्यो दिन अन्य भिडियो पनि बनाएका थिए । त्यसमध्ये एउटामा हिल्टन होटल जलेकामा प्रफुल्लित हुँदै उनले ‘शेरबहादुर देउवा र आरजु राणाको छोराको होटल’ भनेका छन् । ‘झापामा मेयरको घरमा ८० किलो सुन भेटिएको’ भनेको अर्को भिडियो पनि सामाजिक सञ्जालमा भेटिएको छ । यस्तै झापाको भ्युटावर देखाउँदै उनले ‘अब केही समयपछि लगभग ध्वस्त हुन्छ’ भनेका छन् ।
भाटभटेनी सुपरमार्केटका साथै दर्जनौं निजी निवास जलाउन भीडलाई उकासेको देखिने भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । सार्वजनिक, निजी र व्यावसायिक कम्पनीका संरचना तोडफोड, आगजनी र लुटपाटमा संलग्नको अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीले जनाएको छ ।प्रहरीले सार्वजनिक अपिल गर्दै भनेको छ, ‘२३ र २४ भदौमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिंक पठाई सहयोग गर्न हुन अनुरोध गर्छौं ।’