३ बैशाख २०८३, बिहीबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । 

15

काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्ने जानकारी दिए ।गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अघिल्लो बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै पटक पटक बैठक  सारिएको हो ।पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद मिलाउन  पदाधिकारीहरू छलफल गरिरहेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरूपण गर्न मध्यमार्गी बाटोबाट सहमति जुटाउने प्रयासमा लागेका हुन् ।

कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । त्यसैदिन थापाको प्रस्तावलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।महामन्त्री थापाको प्रस्तावलाई इतर समूहले र सहमहामन्त्री यादवको प्रस्तावलाई संस्थापन समूहले समर्थन गरेपछि विवाद चर्किएको छ । केही नेताहरूले दुवै प्रस्तावलाई मिलाएर मध्यमार्गी प्रस्ताव ल्याइ विवाद समाधान गर्न प्रयास गरिरहेका छन् । त्यसमा पार्टीभित्रको इतर समूहका नेता डा शेखर कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्यायलगायत छन् ।

Leave A Reply

Your email address will not be published.