नागरिक समाजका अगुवाहरूले बिहीबार अन्तरिम सरकारको मुख्य काम चुनाव गराउन राष्ट्रपति रामचन्द्र पौडेलसँग अनुरोध गरेका छन् ।

२ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफूले बरु सहिद हुन तयार रहेको तर संविधानभन्दा बाहिर नजाने अडान लिएको प्रसंग सुनाएका छन् ।शीलत निवासमा बिहीबार पुगेका नागरिक समाजका अगुवाहरुसँग भदौ २४ को घटना र त्यसपछि अन्तरिम सरकार गठन गर्दा सम्मका प्रसंग सुनाएका थिए ।
राष्ट्रपतिको अडानकै कारण पहिले अन्तरिम सरकार गठन त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएको थियो । आन्दोलनकारीहरुले पहिले नै प्रतिनिधिसभा विघटन हुनुपर्ने अडान राखिरहेका थिए ।‘असाधारण परिस्थितिमा यो अवस्था आएको हो । तर पनि अब संविधान बचेको छ । अब संविधानलाई तलमाथि हुन नदिइकन काम गर्नुपर्छ’ राष्ट्रपतिले नागरिक अगुवाहरूसँग भनेका थिए ।
उनले मुस्किलले सम्हाल्दै यो अवस्थामा आएको उल्लेख गर्दै अब चुनावको विषय प्राथमिकतामा रहेको बताए । उनले चुनावका अत्यावश्यक बाहेक अन्य प्रकारका कुनै अध्यादेशहरु आए आफूले नस्विकार्ने पनि नागरिक समाजका अगुवालाई बताएका थिए ।नागरिक समाजका अगुवाहरूले बिहीबार अन्तरिम सरकारको मुख्य काम चुनाव भएकाले यो भन्दा दायाबाया नलाग्नका लागि सचेत गराउन राष्ट्रपति रामचन्द्र पौडेलसँग अनुरोध गरेका छन् ।उनीहरुले राष्ट्रपति पौडेललाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरुले दलरहरुसँग अनावश्यक प्रतिशोध नसाँध्न पनि अनुरोध गरेका छन् । यदी यस्तो गरिए अनावश्यक तनाव सिर्जना हुने उनीहरूको ठहर छ ।