एमाले विधान महाधिवेशन

सत्तारुढ दल नेकपा एमालेले आगामी २० देखि २२ भदौसम्म दोस्रो विधान महाधिवेशन गर्दै छ । विधान महाधिवेशनका लागि एमालेले कार्यविभाजन गरेको छ । महाधिवेशनलाई सफल बनाउनका लागि एमालेले नेताहरूलाई जिम्मेवारी तोकेको छ । यही १४ साउनमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले महाधिवेशन व्यवस्थापनको जिम्मेवारी दिएको हो ।
विधान महाधिवेशनका प्रतिनिधिको संख्याबारे टुंगो एमालेको संगठन विभागले लगाउनेछ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै विधान महाधिवेशनका प्रतिनिधि हुने बताए । उनले भने, ‘१०औँ महाधिवेशनका प्रतिनिधिहरू विधान महाधिवेशनमा प्रतिनिधि हुने व्यवस्था छ । तर, महाधिवेशनमा प्रतिनिधि भएका मध्ये कतिको मृत्यु भयो ? कतिले पार्टी छोडे ? कतिलाई पार्टीले कारबाही गरेको छ, तथ्यांक मगाएका छौँ । जिल्लाबाट तथ्यांक आउने क्रम जारी छ । २१ सयदेखि २२ सयसम्म प्रतिनिधि हुनेछन् ।’यो विधान महाधिवेशनमा पार्टीले मनोनीत र सट्टामा कसैलाई प्रतिनिधि नबनाउने अधिकारीले बताए ।