१२ जेष्ठ २०८३, मंगलवार

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले चार निजी कलेजलाई कारबाही गरेको छ ।

18

विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले प्रवेश परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई भर्ना लिने चार निजी कलेजलाई कारबाही गरेको छ ।

विद्यार्थी सङ्गठनहरूको विरोध र आन्दोलनको चेतावनीपछि डिन कार्यालयले नियम विपरीत भर्ना प्रक्रिया अघि बढाउने कलेजहरूमाथि कारबाही स्वरूप नयाँ भर्ना रोक्ने निर्णय गरेको हो ।

संस्थानको डिन कार्यालयले एक जरुरी सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८१/०८२ का लागि बि टेक (फुड टेक्नोलोजी) कार्यक्रममा नियम मिचेर भर्ना लिने चार कलेजलाई कारबाही गरिएको जनाएको छ ।

कारबाहीमा पर्ने कलेजहरूमा विराटनगरको विराट मल्टिपल कलेज, धरानको धरान बहुमुखी क्याम्पस, सुनसरीको निलगिरी कलेज र नवलपरासीको नागरिक कलेज रहेका छन् ।

संस्थानका अनुसार यी कलेजहरूले संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा सहभागी नै नभएका विद्यार्थीहरूलाई आफूखुसी भर्ना लिएर त्रिविको नियम र शैक्षिक मर्यादाको उल्लङ्घन गरेका थिए ।

डिन कार्यालयको यो निर्णयअघि अनेरास्ववियू शैक्षिक विभागका उपप्रमुख आशिष बोहोरा र अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सदस्य भगवान थापाले संयुक्त रूपमा डिन कार्यालयमा एक ज्ञापनपत्र बुझाउँदै कडा कारबाहीको माग गरेका थिए ।उक्त पत्रमा विद्यार्थी सङ्गठनहरूले निजी क्याम्पसहरूले गैरजिम्मेवारपूर्ण रूपमा प्रवेश परीक्षा नै नदिई विद्यार्थी भर्ना गर्नु संस्थानसँगको मिलेमतो भएको आरोप लगाएका थिए ।

‘यसबाट त्रिभुवन विश्वविद्यालयमा जे सुकै मिलेमतो चल्छ भन्ने धारणा स्थापित गर्न खोजिएको छ,’ ज्ञापनपत्रमा भनिएको थियो । उनीहरूले यस्तो कार्यको घोर भर्त्सना गर्दै तत्काल छानबिन गरी अवैध भर्ना खारेज गर्न र मिलेमतोमा संलग्न कलेजहरूको सम्बन्धन नै खारेज गर्न माग गरेका थिए ।

विद्यार्थी सङ्गठनहरूले ४८ घण्टाभित्र छानबिन गरी प्रतिवेदन तयार नभएमा डिन कार्यालयमा तालाबन्दी गर्ने र चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएका थिए ।

विद्यार्थी सङ्गठनहरूको दबाबपछि संस्थानको विद्यापरिषद् स्थायी समितिको २०८२ साउन ६ गते बसेको बैठकले कारबाहीको निर्णय गरेको हो ।

डिन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘त्रि.वि. नियमलाई अवज्ञा गरी नियम विपरीत विद्यार्थी भर्ना गरेका ती कलेजहरूमा शैक्षिक वर्ष २०८२/०८३ मा उक्त बि टेक (फुड टेक्नोलोजी) शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना गर्न नदिने निर्णय भएकोले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यद्यपि, डिन कार्यालयको सूचनाले भविष्यमा नयाँ भर्ना रोक्ने निर्णय गरे पनि हाल नियम विपरीत भर्ना भइसकेका विद्यार्थीहरूको भविष्य के हुने भन्नेबारे स्पष्ट पारेको छैन । विद्यार्थी सङ्गठनहरूले भने उक्त भर्ना प्रक्रिया नै रद्द गर्न माग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.