पेट्रोलियम पदार्थ, फलाम र सवारीसाधन जस्ता वस्तुको बढ्दो आयातले व्यापार घाटा

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यातमा ८१.८० प्रतिशतको ऐतिहासिक वृद्धि देखिएको छ, जसको मुख्य हिस्सा खाने तेलले ओगटेको छ । कुल २ खर्ब ७७ अर्बको निर्यातमा १ खर्ब २२ अर्बको खाने तेल मात्रै रहेको भन्सार विभागले जनाएको छ ।तर, पेट्रोलियम पदार्थ, फलाम र सवारीसाधन जस्ता वस्तुको बढ्दो आयातले गर्दा देशले १५ खर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नुपरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक वर्ष अर्थात् आव २०८०/८१ को तुलनामा १९.२४ प्रतिशतले बढी निर्यात भएको छ । अघिल्लो वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो ।
नेपालले कुल १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । सोही अवधिमा निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ । यसले गर्दा देशले कुल १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।
यसैअवधिमा ४ खर्ब ७७ अर्ब ९९ करोड बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ४ खर्ब २० अर्ब १६ करोड बराबर राजस्व संकलन भएको थियो ।
साथै अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा आयातमा १३.२५ प्रतिशत वृद्धि भएको छभने निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ । आयात १८ खर्ब ४ अर्ब १२ करोड बरबर रहेको छ भने निर्यात २ खर्ब ७७ अर्ब ३ करोड बराबर भएको छ । अघिल्लो वर्षमा १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको आयात हुँदा १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको निर्यात भएको उल्लेख छ ।