आधारभूत मूल्यमान्यतासँग सम्झौता गर्नुपरेमा सरकार छोडेर हिँड्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताए

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आवश्यक परे सरकार छोडेर हिँड्नुपर्ने बताएका छन् । बीपी स्मृति दिवसका अवसरमा कांग्रेस चितवनले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आधारभूत मूल्यमान्यतासँग सम्झौता गर्नुपरेमा सरकार छोडेर हिँड्नुपर्ने बताएका हुन् ।हामी सरकारमा एमालेसँग छौँ भन्दै गर्दा हाम्रा आधारभूत कुराहरूसँग, न्यूनतम मूल्यमान्यता जे छ, त्यसँग सम्झौता गर्नुपर्ने अवस्था आयो भने एक मिनेट पनि नसोची तिम्रो सरकार तिमीलाई मुवारक, हामी आफ्नो बाटो हिँडौँ भनेर भन्छु म, त्यो हिम्मत बोकेर बस्नुपर्छ,’ थापाले भने । उनले कांग्रेसका मन्त्रीहरूले खल्तीमा राजीनामा बोकेर बस्नुपर्ने पनि बताए ।
अनि कांग्रेसको सभापतिले पनि आधारभूत मूल्यमान्यतामा सम्झौता गर्नुपर्यो भने तिम्रो प्रधानमन्त्री, तिम्रो सरकार, तिमीलाई मुवारक, हिँड्छु म भन्ने हिम्मत मनमा राखिराख्नुपर्छ ।’
महामन्त्री थापाले आगामी चुनावका हिसाबकिताब छोडिदिन पनि आग्रह गरे । चुनावको चिन्ता भनेको लोभी हुनु रहेको बताउँदै उनले भने, ‘लोभी भए धेरै कुरा गर्न सकिन्न, डराइन्छ, केको डर ? सत्यको पक्षमा उभिने हो ।’