७० वर्षे उमेर हद र विधानमा रहेको नेतृत्वमा २ कार्यकाल भन्ने व्यवस्था संशोधनसम्बन्धी प्रस्ताव पारित एमालेमा

काठमाडौँ । नेकपा एमालेले शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र विधानमा रहेको नेतृत्वमा २ कार्यकाल भन्ने व्यवस्था संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको हो । बैठकमा उपाध्यक्ष विष्णु पौडेल प्रस्तावित विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार संशोधन प्रस्तावमा मुख्य गरी पार्टीमा अबदेखि सङ्गठित र साधारण गरी दुईथरी सदस्यताको व्यवस्था रहने प्रस्ताव पारित गरिएको छ । त्यस्तै बैठकले जिल्ला कमिटीलाई कार्यकारी कमिटी हुने प्रस्ताव पनि गरेको छ ।
शनिबारको बैठकमा गोरख बोगटी, अग्नि खरेल, भीम आचार्य, मुकुन्द न्यौपाने, भानुभक्त ढकाल, केशव बडाल, गोकुल बास्कोटा, हिक्मत कार्की, थममाया थापा, लीला श्रेष्ठ, गोकुल घर्तीमगर, राजेन्द्र गौतम, लीला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरबहादुर रिजाल, जितु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राणा, देवेन्द्र दाहाल, अरुण नेपाल, गोकुल घर्तीमगर लगायतले विधान संशोधन मस्यौदामाथि धारणा राखेका छन् ।
पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा निषेध गर्न नहुने धारणा राखेका छन् ।उनले ‘म अध्यक्ष कमरेड केपी ओली र सम्पूर्ण नेतृत्व पङ्क्तिलाई अनुरोध गर्न चाहन्छु पार्टीमा विधिसम्मत पार्टीमा पुनः क्रियाशील हुन चाहने पूर्वराष्ट्रपतिलगायत सबैलाई निषेध गरेर होइन, खुला स्वागत गरेर काममा लगाउनुपर्छ’, पोखरेलले बैठकमा भनेका थिए । पार्टीभित्र र बाहिर एमालेमा मनोवैज्ञानिक भावनात्मक, राजनीतिक, संगठानिक र पार्टीको आन्तरिक एकता मजबुत गर्दै सबै समस्या समाधान गरी पार्टीलाई निर्णायक शक्ति र एकल बहुमतको सरकार बनाउन सक्ने सन्देश दिनुपर्नेमा पोखरेलको जोड थियो ।
‘दसौँ महाधिवेशनमा जब ७० वर्षे प्रावधान प्रस्तुत भयो र पास भयो मैले विश्वास गर्न थालेँ अब नेतृत्वमा नयाँ पुस्ताको आगमन हुनेछ’, पोखरेलले भनेका छन्, ‘शङ्कर पोखरेलजस्ता ऊर्जाशील कमरेडहरू अध्यक्ष बन्नेछन् भन्ने आशा पलाएको थियो, आज आशा गरेकै कमरेडहरूबाटै वर्तमान विधान संशोधनको नयाँ प्रस्ताव बैठकमा प्रस्तुत भएपछि मेरो विगतको विश्वास खण्डित भएको छ ।’
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने विषयमा भएको छलफलमा अधिकांश सदस्यले बेठिक रहेको धारणा राखेका छन् । साथै भण्डारीलाई अहिले नै अध्यक्ष बनाउन नहुने पक्षमा सदस्यहरू उभिएका छन् । यद्यपि त्यसबारे अर्को कमिटीबाट निर्णय गर्ने एमालेले जनाएको छ ।