१२ जेष्ठ २०८३, मंगलवार

गभर्नर पौडेलको पहिलो मौद्रिक नीति अर्थतन्त्र सुधार्ने प्रयास

12

काठमाडौँ । अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लचिलो मौद्रिक नीति ल्याएका छन् । सर्वसाधारणदेखि निजी क्षेत्रको अधिकतम मागलाई सम्बोधनको प्रयास गर्दै गभर्नर पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेका हुन् । निजी क्षेत्रलाई खुसी बनाउने गरी आएको बजेट कार्यान्वयनका लागि थप सहजता प्रदान गर्नेगरी मौद्रिक नीति आएको विश्लेषण गरिएको छ ।निजी क्षेत्रका सबै संस्थाहरूले चालु पुँजीकर्जा सम्बन्धी नीतिलाई परिमार्जन वा खारेज गर्न लामो समयदेखि माग गर्दै आएका थिए । उक्त मागलाई पनि गभर्नर पौडेलले परिमार्जन गर्ने मौद्रिक नीतिमा घोषणा गरेका छन् । त्यस्तै, गभर्नर नियुक्तपछि पौडेलले सार्वजनिक कार्यक्रमहरूमा भाषण नै गरेर सर्वसाधारणले अनुभूति हुने गरी नीतिहरू बन्नु पर्ने धारणा राख्दै आएका थिए । उनले उक्त धारणालाई पनि मौद्रिक नीति मार्फत सम्बोधन गर्न खोजेका छन् ।

गभर्नर पौडेलले साना किसानहरूलाई वित्तीय पहुँच पु-याउने नीतिगत व्यवस्था गरेका छन् । उनले ठुला पूर्वाधार आयोजनाहरूमा पुँजीकै रूपमा बैंकहरुले लगानी गर्न सक्नेगरी सहजीकरण गरेका छन् ।  पौडेलले  बारम्बार भन्दै आएको थिए–अब आम सर्वसाधारणलाई ध्यान दिएर मौद्रिक नीति अङ्गीकार गर्नुपर्छ । सोही धारणालाई उनले नीतिमा सम्बोधन गरेको देखिन्छ । नयाँ मौद्रिक नीतिमा सर्वसाधारणले लिने घरकर्जा, सेयर कर्जा, कृषि तथा उद्यम कर्जालगायतका कर्जामा सहजीकरण गर्दै न्युन ब्याजमा ऋण लिन सक्नेगरी समेत नीतिगत व्यवस्था गरिएको छ।

बैंक  तथा वित्तीय संस्थाहरूमा अधिक तरलता रहेको अवस्थामा ब्याजदर घटे पनि कर्जाको मागमा सुधार नआएपछि गभर्नर पौडेलले सर्वसाधारणलाई कर्जा लिन सजिलो बनाइदिएका छन्।

त्यस्तै, जाजरकोटका भूकम्प पीडितदेखि ठुला उद्योगी व्यवसायीहरूलाई समेत मौद्रिक नीति मार्फत सबैलाई सहजीकरणको प्रयास गभर्नरले गरेका छन् । विशेषतः गभर्नर पौडेलले मौद्रिक नीति मार्फत सेयर बजार र रियलस्टेटलाई ‘बुम’बनाउने गरी कोसिस गरेका छन् । उनले सेयर बजार र घरजग्गालाई पहिलो प्राथमिकता राखेर मौद्रिक नीति ल्याएका हुन् । विगतमा सबैभन्दा कडाइ गरिएको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर मौद्रिक नीति मार्फत सहजीकरण गरेका छन् ।

सेयर बजार र घरजग्गा कारोबारलाई चलायमान बनाउँदै सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने कोसिस गरेको देखिन्छ । गभर्नर पौडेल वित्तीय प्रणालीभन्दा बाहिरबाट आएका हुन् । उनीबाट पछिल्ला निर्देशनहरुले मौद्रिक नीतिमा धेरै सहज र लचिलो आउने अपेक्षा सबैको थियो । तर त्यति धेरै नयाँ भिजन ल्याउन त सकेनन् तर पुराना कसिला व्यवस्था र अङ्कहरूलाई हेरफेर भने व्यापक गरेका छन् ।

उनले सहज मुद्रास्फीति, सुविधाजनक विदेशी विनिमय सञ्चितिको स्थिति र परिदृश्यलाई मध्यनजर गरेर केही कसिला नीतिलाई लचिलो बनाएको दाबी गरेका छन् । गभर्नर पौडेलले निजी क्षेत्रको पुँजी निर्माण र सरकारको आन्तरिक ऋण परिचालनको लागतमा समेत कमी आई आर्थिक गतिविधि अभिवृद्धि सहज हुने अपेक्षा गरिएको पनि उल्लेख गरे ।

गभर्नर पौडेलले मौद्रिक नीति जारी गर्दै भने, ‘वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि तथा कर्जा अधिकेन्द्रीकरण कम गर्न मौद्रिक उपाय र विवेकशील नियमन लगायतका नियामकीय व्यवस्थाहरूमा तादात्म्यता कायम गरिएको छ ।’

Leave A Reply

Your email address will not be published.