भोटेकोशी नदीमा आएको बाढीमा चिनियाँ नागरिक गरी १८ जना बेपत्ता

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा १२ नेपालीसहित १८ जना बेपत्ता भएका छन् ।
मंगलबार बिहान ३ बजेतिर भोटेकोशी नदीमा आएको बाढीमा परेर १२ जना नेपाली र ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले बाढीमा असई लालबहादुर श्रेष्ठसहित तीन जना प्रहरी बेपत्ता भएको बताए ।
उनीहरूको खोजी भइरहेको छ,’ उनले भने, ‘तथ्यांक संकलन हुँदै छ, बेपत्ता हुनेको संख्या बढ्न सक्छ ।’
डीएसपी शाहीका अनुसार बाढीमा फसेका ९ जनाको भने सकुशल उद्धार गरिएको छ । बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ । पुल बगाउँदा नेपाल-चीन सम्पर्क पनि टुटेको छ । बाढीले भन्सार जाँचपासका लागि सुक्खा बन्दरगाह (ड्राइपोर्टमा) राखिएका ईभी गाडीहरू पनि बगाएको छ ।