सुदूरपश्चिम, देशको चौथो प्रदेशका रुपमा साक्षर घोषणा

सुदूरपश्चिम प्रदेश साक्षर घोषणा भएको छ । प्रदेशका १५ देखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएपछि प्रदेशलाई साक्षर घोषणा गरिएको हो ।सुदूरपश्चिम प्रदेशमा १५ देखि ६० वर्षसम्मको जनसंख्या १६ लाख ८८ हजार ३४ रहेको छ । त्यसको ९६.१९ प्रतिशत अर्थात् १६ लाख २३ हजार ७१९ नागरिक साक्षर रहेको शिक्षा निर्देशनालयको तथ्यांक छ । सबैभन्दा बढी साक्षर प्रतिशत (९७.३१) बाजुरामा रहेको छ भने सबैभन्दा कम अछाममा (९५.५५) रहेको छ । ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएपछि साक्षर घोषणा गर्ने नीति छ ।
साक्षरता अभियान प्रदेश समन्वय समिति सुदूरपश्चिमका सदस्य सचिव दुर्गादत्त विष्टका अनुसार सुदूरपश्चिम, देशको चौथो प्रदेशका रुपमा साक्षर घोषणा भएको हो । यसअघि बागमती, गण्डकी र कोशी प्रदेश साक्षर प्रदेशका रूपमा घोषणा भइसकेका छन् । साक्षर नेपाल वर्षको अवधारणाअनुसार वडा, स्थानीय तह, जिल्ला हुँदै प्रदेशलाई साक्षर घोषणा गरिएको विष्टले बताए । सुदूरपश्चिम प्रदेशमा पहिलो साक्षर घोषणा गर्ने जिल्ला दार्चुला थियो । दार्चुला १५ पुस २०७२ मा साक्षर जिल्ला घोषणा गरिएको थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यतामा भएको साक्षर प्रदेश घोषणा कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, पूर्वमुख्यमन्त्री, प्रदेशसभा सदस्यलगायतको सहभागिता थियो ।