१२ जेष्ठ २०८३, मंगलवार

मनसुन यो वर्ष १५ दिन अगावै

15

सामान्यतः जेठ ३० मा भित्रिने मनसुन यो वर्ष १५ दिन अगावै बिहीबार राति पूर्वी नेपालबाट प्रवेश गरेको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट हुने मनसुन सामान्यतः भारतको दक्षिणी केरला राज्यमा प्रवेश गरेको १० देखि १३ दिनभित्र अर्थात् जुन १३ (जेठ ३०) मा नेपाल भित्रिने भए पनि यो वर्ष सरदर मितिभन्दा अगाडि नै प्रवेश गरेको हो ।

जल तथा मौसम विज्ञान विभागको मनुसन आगमन तथा बहिर्गमनसम्बन्धी रेकर्डअनुसार यस पटक २९ वर्षयता (सन् १९९६ मे ३१ पछि) सबैभन्दा चाँडो मनसुन भित्रिएको हो । केरलामा पनि सरदरभन्दा आठ दिन अगावै गत शनिबार मनसुन प्रवेश गरेको थियो ।

बिहीबार नेपाल प्रवेश गरेको मनसुन कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार अपराह्न ३ बजे ‘मनसुन आगमन बुलेटिन’ जारी गर्दै कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भइरहेको उल्लेख गरेको छ । केही दिनमा मुलुकभर मनसुनको प्रभाव विस्तार हुने महाशाखाले जानकारी दिएको छ ।

सामान्यतः मनसुन हुन पूर्वबाट पश्चिमतर्फ हावा बहनुपर्ने हुन्छ । कोशी प्रदेशबाहेक देशको बाँकी भू–भागमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत् रहेको तथा मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको महाशाखाले जनाएको छ । मनसुनी प्रक्रिया औसत ११२ दिन चल्छ । मनसुन अवधिमा वार्षिक वर्षको ८० प्रतिशत वर्षा हुन्छ ।

महाशाखाका अनुसार आइतबारसम्म कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतः बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । अन्य भूभागहरूमा पनि हल्कादेखि मध्यम वर्षको सम्भावना छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा.मदन सिग्देलले भने मनसुन आगमन भइसके पनि आगामी सोमबारपछि एक हप्तासम्म मनसुन ‘ब्रेक’ हुने सम्भावना रहेको बताए । उनका अनुसार मनसुन हुन हावामा जलवाष्प हुनुपर्छ, त्यो नभईकन सुक्खा हावा बहने मौसमी प्रणालीलाई मनसुन ‘ब्रेक’ भनिन्छ ।

‘मनसुन ब्रेक हुनेमा दुई कारण छन्, एउटा मनसुन पार्ने र निरन्तरता दिने बंगालको खाडीमा बन्ने न्यून चापीय प्रणाली विकास नहुँदा र अर्को, पश्चिमी वायुको प्रभाव कोशीमा हटिसके पनि देशका अन्य भूभागमा सक्रिय रहेकै अवस्थामा सुक्खा हावा बहँदा हुन्छ,’ उनले भने, ‘यसपालि मनसुन आगमनलगत्तैको मनसुन ब्रेक पश्चिमी सुक्खा हावाले गर्दा हुने देखिएको हो, किनभने मनसुन केही भूभागमा मात्रै फैलिएको हुन्छ ।’

कोशी प्रदेशबाट प्रवेश गरेर विस्तारका क्रममा रहेको मनसुन ‘ब्रेक’ भएको खण्डमा त्यो अन्य भागमा पुग्ने–नपुग्ने यकिन गर्न नसकिने सिग्देलको भनाइ छ । त्यस्तै, शनिबार कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न चेतावनी जारी गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी मात्रामा वर्षा हुने पूर्वानुमान गरिसकेको छ । विभागको विश्लेषणअनुसार गतवर्ष ७७ वर्षकै इतिहासमा सबैभन्दा ठूलो पानी परेको अवस्थामा बाढी, पहिरो, भारी वर्षा र चट्याङजस्ता विपद् घटनाले मानवीय र भौतिक क्षति पुर्‍याएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्षति तथा नोक्सानीको प्रारम्भिक आकलन’ अनुसार सडक, पुल, जलविद्युत्लगायत भौतिक पूर्वाधार, कृषि तथा पशुधन, शिक्षा, स्वास्थ्य र सिँचाइतर्फ करिब ४६ अर्ब ६८ करोड ४३ लाखभन्दा बढीको क्षति पुगेको थियो ।

राष्ट्रिय विपद् प्राधिकरणले यस वर्ष मनसुनजन्य विपद्ले करिब २० लाख जनसंख्या प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजनासमेत जारी गरेको छ ।

सरदरभन्दा अगावै आएको मनसुनले पार्न सक्ने क्षति न्यूनीकरण गर्न विज्ञहरूले पनि पूर्वतयारी तथा सतर्कता अपनाउन सुझाव दिएका छन् । ‘बढी पानी पर्दा विपद् निम्तिने जोखिम हुन्छ, सडकहरू निर्माणकै क्रममा रहेको र तीव्र सहरीकरण भएको काठमाडौं उपत्यकालगायत सहरहरूमा खोलानाला बढ्ने हुन्छ, किनारका बस्तीहरू जोखिममा हुन्छन्,’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक सिग्देल भन्छन्, ‘अघिल्ला वर्षको जस्तो क्षति दोहोरिन नदिन व्यक्ति तथा समुदायस्तरबाट पूर्वतयारी गर्नुपर्छ, सचेत रहनुपर्छ, एक व्यक्ति चनाखो हुँदा ठूलो क्षतिबाट बच्न सकिन्छ ।’

Leave A Reply

Your email address will not be published.