१ श्रावण २०८३, शुक्रबार

मंगलबार आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बसेर गभर्नर नियुक्ति गरिए

4


सरकारले केन्द्रीय बैंकको गभर्नरमा अर्थशास्त्री विश्वनाथ पौडेललाई नियुक्ति गरेको छ । पद रिक्त हुनुभन्दा एक महिनाअघि नै गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्थाविपरीत सत्तारूढ कांग्रेस र एमालेबीचको राजनीतिक खिचातानीका कारण ४४ दिनपछि मात्र गभर्नर चयन गरिएको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले नाम पठाएका तीन जनामध्येबाट पौडेललाई पाँच वर्षका लागि गभर्नर नियुक्ति गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । सिफारिस समिति सदस्यमा पूर्वगभर्नरका रूपमा महाप्रसाद अधिकारी  र विज्ञका रूपमा पोषराज पाण्डे थिए ।

समितिले पौडेलसहित कामु गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईलाई मंगलबार नै सिफारिस गरेको थियो । सत्तारूढ कांग्रेस र एमालेबीच कुरा मिल्न नसक्दा सरकारकै प्रमुख आर्थिक सल्लाहकार राष्ट्र बैंक गत २५ चैतदेखि नेतृत्वविहीन थियो । गभर्नरमा आफू निकटलाई ल्याउन दुवै दलले अडान नछाड्दा शीर्ष तहमै अविश्वास सिर्जना भई गठबन्धन नै टुट्ने जोखिम निम्तिएको थियो । लामो समयसम्म गभर्नर नियुक्ति गर्न नसकेकामा सरकारको आलोचना बढ्दै गएको थियो ।

गभर्नर नियुक्तिको विषयलाई लिएर शंका–उपशंका प्रकट भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार नै पौडेललाई गभर्नर बनाउने सहमति गरेका थिए । त्यसपछि अपराह्न ४ बजे सिफारिस समितिको बैठक बसेर तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो । सोमबार नै गभर्नर नियुक्ति गर्ने चर्चा भए पनि शीर्ष तहमा सहमति नभएका कारण मन्त्रिपरिषद्को नियमित बैठकसमेत अन्तिम समयमा स्थगन गरिएको थियो । मंगलबार आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बसेर गभर्नर नियुक्ति गरिएको हो ।

Leave A Reply

Your email address will not be published.