बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार

काठमाडौँ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बीपी राजमार्ग पुनर्निर्माणमा २ अर्ब ८० करोड जापानी येनबराबर रकम अनुदान दिने भएको छ ।
सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार उक्त रकम अनुदान दिने भनेर प्रारम्भिक मस्यौदा प्राप्त भएको छ । ‘त्यसमा राय सुझाव दिनुपर्ने हुन्छ । अहिले मन्त्रालयले सुझावका लागि मन्त्रालयले सोधेकोमा राय लेख्दै छौँ,’ उनले भने ।
हालको मूल्यअनुसार उक्त जापानी येन बराबर २ अर्ब ६५ करोड ७२ लाख रुपैयाँ बराबर हुन्छ । अब जाइकाले पठाएको मस्यौदामाथि विभागले राय पठाएपछि रकमबारे टुङ्गो लाग्ने अर्यालले बताए । गत असोजमा आएको बाढी पहिरोले राजमार्गको २९.५ किलोमिटर सडकमा क्षति पुगेको छ । यो सडकमा करिब ८ अर्ब ५० करोड रुपैयाँ बराबर बजेटको स्रोत सुनिश्चित गरिएको छ ।
यो सडक दुई लेनमा विस्तारसहित पुनर्निर्माणका लागि चार वटा प्याकेज छुट्याई ठेक्का आह्वान भइसकेको छ । सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ तीन वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वान गरिएको छ ।
सबै प्याकेजमा ठेक्का आह्वान गरिएको मितिबाट ३० दिनभित्र निर्माण कम्पनीले आवेदन दिनुपर्ने उल्लेख गरिएको छ । तीनवटै ठेक्कामा निर्माण व्यवसायीले आवेदन गरिसकेका र छनोटका क्रममा छ ।
पटक–पटक जाइकासँग पुनर्निर्माणबारे छलफल गरिरह्यो । जाइकाले यो राजमार्ग पुनर्निर्माणका लागि कुनै ठोस निर्णय नदिएपछि फागुन अन्तिममा ठेक्का आह्वान गरेको थियो । अहिले आएर भने जाइका कुल लागतको एकतिहाइ रकम अनुदान दिन तयार देखिएको हो ।