कांग्रेसभित्रको इतरपक्षबाट झस्कियो एमाले, सचिवालय बैठकमै भयो छलफल

सत्ता साझेदार दल कांग्रेसबाट एकमतका साथ सरकारको बचाउ नभएपछि सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले झस्किएको छ । कांग्रेस संस्थापनइतर समूहबाट लगातार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमाथि प्रहार हुन थालेपछि एमाले तरंगित भएको हो ।
कांग्रेस नेता डा. शेखर कोइरालाले शनिबार नवलपरासीमा थारु संघको जिल्ला अधिवेशन उद्घाटन गर्दा कांग्रेसले ओली सरकार छोड्नुपर्ने स्पष्ट शब्दमै बोलेको भोलिपल्ट आइतबार प्रधानमन्त्री तथा पार्टी ओलीले सचिवालय बैठक राखे । र, कांग्रेसभित्रको विवादले सरकारमा पारेको प्रभावबारे ब्रिफिङ गरे । बैठकमा कांग्रेसका प्रभावशाली र पदाधिकारी तहबाटै सरकारबारे भएका टिप्पणीले राम्रो सन्देश नगएको विषयमा सचिवालय बैठकमा छलफल भएको एक नेताले जानकारी दिए ।
हुन पनि कांग्रेस महामन्त्री गगन थापा सरकारका लागि सहयोग गर्न बनेको संयन्त्रको बैठकमै जान छाडेका छन् । यति मात्र होइन, उनले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाएको पहुँच रहेको बताए । थापाको यो भनाइलाई प्रधानमन्त्री ओलीले सहज रूपमा लिएका छैनन् । उनले हालै एक सार्वजनिक कार्यक्रममा यो आरोप पुष्टि गर्न चुनौती नै दिएका थिए ।
खास गरी सत्ता साझेदार कांग्रेसका नेताहरूले सरकारको विरोधमा बोल्न थालेको गत माघपछि मात्र हो । अध्यादेश जारी गर्ने बेलासम्म महामन्त्री थापाले सरकारको विरोध गरेका थिएनन् । बरु अध्यादेश जारी गर्ने तयारीको अगुवाइ गरेका थिए ।
तर, राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय जसरी गिजोलियो, त्यसले थापा सन्तुष्ट हुन सकेनन् । र, भनिदिए– ‘प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच ।’ उनले यो अभिव्यक्ति दिनुअगाडि सम्भावित गभर्नरका लागि विभिन्न व्यावसायिक घरानाले व्यक्ति बोकेको चर्चाले बजार तातिएको थियो । उनको यो भनाइपछि तातिएको बजार मत्थर त भयो तर राष्ट्र बैंकले गभर्नर भने पाउन सकेको छैन ।
महामन्त्री थापा मात्र होइन, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि ओली सरकारको आलोचना गरिरहेका छन् । डा. शेखर कोइरालाले त ओली सरकारको आलोचना गर्न थालेको धेरै भयो । ओली सरकारको आलोचना कांग्रेस संस्थापनइतर पक्षबाट मात्र भएको छैन, प्रवक्ता डा. प्रकाशशरण महत र राष्ट्रियसभामा संसदीय दलका नेता कृष्ण सिटौलाले पनि सरकारको आलोचना गरिरहेका छन् ।
यसरी कांग्रेसका प्रभावशाली नेताबाटै सरकारको आलोचना हुन थालेपछि अस्थिरताको सन्देश गएको विषय आइतबार एमाले सचिवालय बैठकमा छलफल भएको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भनेका छन्, ‘दलहरूभित्र आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा बिसाउन हुँदैन । दलभित्रका समस्या आफ्नो ठाउँमा होलान् । हाम्रो पार्टीमा केही समस्या छन् भने त्यो समाधान गर्ने दायित्व हाम्रो हो ।’
‘पार्टीभित्रका समस्या यदि राष्ट्रिय राजनीतिमा जोडिन थाले, त्यहाँ गएर समाधान खोज्न थालियो, त्यहाँभित्रको समस्यालाई त्यहाँ पोख्न थालियो भने त्यसले राम्रो गर्दैन भन्ने हाम्रो निष्कर्ष हो ।’
कांग्रेस नेताहरूको सरकारबारे टिप्पणीलाई एमाले नेताहरूले कसरी लिएका छन् भन्ने बुझ्न एमाले पोलिटब्युरो सदस्यसमेत रहेका सांसद सूर्य थापाले सामाजिक सञ्जालमा गरेको एक टिप्पणीले पनि देखाउँछ । डा. शेखरको भनाइबारे जवाफ दिँदै थापाले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिबाट निर्णय, सहमति वा अनुमोदन केही गरेर अघि बढ्नुपर्छ कि महाधिवेशन लागेको संकेतस्वरूप समूहको तयारी कार्यअन्तर्गत आगो फुकेर चिसो दाउरा परालले छोप्दै धुवाँ निकाल्ने प्रयास हो डा. सा’ब यो भनाइ ? सदैव र अहोरात्र नै अस्थिरताको खेती गरिनु राष्ट्रिय हित र लोकतन्त्र दुवैको विपक्षमा रहेको ऐतिहासिक तथ्य मौजुद नै छ !’