आतंकवादी आक्रमणले पाकिस्तानप्रति भारत आक्रामक
जम्मु–कश्मीरमा रमाइरहेका पर्यटकमाथि हतियारधारी समूहले धर्मका आधारमा आक्रमण गरेपछि भारत पाकिस्तानप्रति आक्रामक देखिएको छ। यूएईको भ्रमण छोट्ट्याएर फर्किएका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रिपरिषद्को सुरक्षा बैठकले पाकिस्तानविरुद्ध कडा निर्णय लिएको होl

भारतको निर्णयबाट दुई देशबीचको तिक्तत्तापूर्ण सम्बन्ध अझै टकरावपूर्ण स्थितिमा पुगेको छ। पाकिस्तानले भने जम्बु–कश्मीरमा भएको घटनामा पाकिस्तानको कुनै संलग्नता नरहेको भन्दै रक्षात्मक बचाउ गरेको छ। पाकिस्ताको बचाउलाई भारत सरकारले महत्वका रूपमा हेरेको छैन। बरु भारतले कडा निर्णय गर्दै सबै पाकिस्तानी नागरिकलाई भारत छाड्न ४८ घण्टा म्याद दिएको छ।
कश्मीर घटनामा नेपालका सुदीप न्यौपानेसहित २६ जना नागरिकको हत्या भएको थियो। जसमा २५ जना भारतीय हुन्। पहलगाममा भएको घटनापछि त्यो क्षेत्र त्रस्त बनेको छ। भारतीय सञ्चारमाध्यमहरूले पहलगामबाट व्यापारी र पर्यटकहरू बाहिरिनेक्रम तीव्र रूपमा बढेको जनाएका छन्।
पहलगाममा भएको घटनालाई भारतमा सन् २०१९ पछिकै सबैभन्दा घातक आक्रमण भनिएको छ। बीबीसी हिन्दीले २०१९ पछि त्यति घातक आक्रमण नभएको उल्लेख गरेको छ।
कश्मीरमा भारत र पाकिस्तान दुवैले आफ्नो दाबी गर्दै अलग–अलग क्षेत्रमा शासन गरिरहेका छन्। घटनापछि भारतले मुख्य बोर्डर अटारी पूर्णरूपमा बन्द घोषणा गरेको छ। भारतीय विश्लेषकहरूले जम्बुको सीमा क्षेत्रमा भारतको जवाफी कारबाही हुन सक्ने आंकलन गरेका छन्। भारतका सैन्य इतिहासकार श्रीनाथ राघवनको भनाइ उदृढ गर्दे बीबीसीले लेखेको छ, ‘कडा कारबाहीको अवस्था आएको छ, जुन पाकिस्तानका लागि सन्देश होस्।’
सन् २०१६ मा जम्मु–कश्मीरको उत्तरी रेखानजिकै भएको आक्रमणमा १९ भारतीय सैनिकले ज्यान गुमाउँदा भारतले सर्जिकल स्ट्राइक गरी पाकिस्तान प्रशासित कश्मीरका चरमपन्थीहरूलाई दबाएको थियो। त्यसपछि सन् २०१९ मा पुलवामा हमला हुँदा ४० जना भारतीय अर्धसैनिक जवानको मृत्यु भयो। हवाई हमला गरी भारतले त्यसको जवाफ दिएको थियो। त्यो सन् १९७१ पछिको पहिलो हवाई आक्रमण थियो।