माघीमय भए थारू बस्ती


विशेष गरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ २ सम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरू भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी दिए ।
आज बिहानैदेखि थारू गाउँहरूमा मासुका लागि जिता मार्ने (बङ्गुर काट्ने) क्रियाकलाप सुरू भइसकेको थारू अगुवा चौधरीले बताए । त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरूलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको उनले बताए ।
‘माघे सङक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छोड्ने गरिन्छ । त्यसपछि नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्याइएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ’, उनले भने, ‘त्यसपछि घरमा भएका पुर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा रही आएको छ ।’ तेस्रो दिन अर्थात् माघ २ मा चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा पनि रहेको उनले बताए ।
माघी मनाउन थारू समदायका गाउँ, बस्ती आसपासका क्षेत्रमा गाउँमा मेला तथा महोत्सवको आयोजना गरिएको छ । माघीपर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।