ओलीमाथि रावलको आरोपै आरोप
काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा। भीम रावलले प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश व्यक्त गरेका छन् । पार्टीबाट निकालिएपछि अगामी राजनीतिक यात्राबारे जानकारी दिन बुधबार काठमाडौँ पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीमा आफ्नो स्थान नहुनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिबिम्ब भएको बताए ।
उनले राजनीति आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा सञ्चालन हुने भए पनि केपी ओलीले आफूसँग संवाद नै नगरी स्पष्टीकरण सोधेको कारण स्पष्टीकरण नदिएको बताए । उनले पाँच दशक पार्टीमा काम गरेको नेतासँग कुरा नगरी सोधिएको प्रस्टीकरण प्रथम दृष्टिमै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट भएको बताए । उनले कथित स्पष्टीकरणको जवाफ दिनुभन्दा जनतालाई थुप्रै जवाफ दिनुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उनले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको गुनासो गरे ।
उनले भने, ‘मलाई पार्टी गतिविधिमा निषेधित गरिएका अनेकौँ घटनाक्रमहरूले सम्झायो । पार्टीमा मेरो लागि कुनै स्थान उल्लेख नहुनु केपी ओलीमा मप्रतिको द्वेष पूर्वाग्रह, निषेधात्मक गतिविधिको प्रतिबिम्ब हो । मलाई विगतका कुरा कोट्याएर घाउ कोट्याए जस्तो गर्नु थिएन । कथित स्पष्टीकरणबारे ओलीले नै स्पष्ट पार्नुपर्ने । कुनै पनि संस्थामा कार्यरत व्यक्तिलाई तत्काल गरिएको कुनै कामबाट संस्थाको विधान वा हित विपरीत काम भएको लागेमा वा देखिएमा व्यक्तिको पृष्ठभूमि वा पर्न सक्ने असरलाई ध्यानमा राखेर छलफल वा कुरा गरिन्छ । राजनीति र त झन् आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा सञ्चालन हुने हुँदा छलफल र संवादले प्राथमिकता पाउँछ । निर्देशनको आधारमा चल्नुपर्ने प्रशासनिक क्षेत्रमा समेत स्पष्टीकरण सोध्नुअघि छलफल गर्नुपर्ने परिपाटी छ । यस्तो परिपाटी विपरीत केपी अोलिबाट म जस्तो पाँच दशक पार्टीमा काम गरेको नेतासँग कुरा नगरी सोधिएको प्रस्टीकरण प्रथम दृष्टिमै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट हुन्छ । अझ तीन वर्षदेखिका कुरा स्पष्टीकरणमा सोधिनु हास्यास्पद छ । अतः यस्तो कथित स्पष्टीकरणको मैले जवाफ दिनुभन्दा जनतालाई थुप्रै जवाफ दिनुपर्ने देखिन्छ ।’