१३ जेष्ठ २०८३, बुधबार

क्रेडिट पूरा नगरी फेल भएका सात विद्यार्थी दीक्षित

22


काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन प्राप्त निजी क्याम्पस लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट ललितपुरमा भर्ना भएका तर कोही बीचैमा कक्षा छाडेका र कोही तोकेको क्रेडिट पूरा नगरी फेल भएका सात विद्यार्थी दीक्षित भएको विवरण सार्वजनिक भएको हो । उनीहरूलाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अध्यक्षता गरेको दीक्षान्त समारोहबाट दीक्षित गरिएको हो । त्यति मात्रै होइन, परीक्षामा सहभागी नभए पनि उनीहरूलाई २.६५ देखि ३.५१ जीपीएसम्म अंक प्रदान गरिएको छ । केयूले सार्वजनिक गरेको सूचीअनुसार यो वर्ष बीबीएतर्फ १ सय ८७ विद्यार्थी दीक्षित भएका हुन् । तर, बीचैमा कक्षा छाडेको तथा फेल भएका सात विद्यार्थी दीक्षित हुँदा मापदण्ड पुगेका दुई विद्यार्थी भने यो अवसरबाट वञ्चित भएका छन् ।

अर्को दुर्भाग्य, यो प्रकरणमा केयू पदाधिकारी दुई समूहमा देखिएका छन् । उपकुलपति भोला थापा, रजिस्ट्रार अच्युत वाग्ले, परीक्षा नियन्त्रक रामप्रसाद घिमिरे, डिन विजयकुमार केसीले यसलाई मानवीय त्रुटिका रूपमा लिएका छन् । उनीहरूले दीक्षान्त समारोहलगत्तै आन्तरिक छानबिन गरिएको र एक कर्मचारीले ‘डेटा इन्ट्री’ को क्रममा आफूबाट भएको व्यक्तिगत गल्तीबारे पुस ३ मा नै लिखित स्पष्टीकरण दिएको बताएका छन् । ती कर्मचारीले व्यवस्थापनले आफूलाई क्षमा गरिदियोस् भनेर अनुरोध पनि गरेका छन् । आफ्नो गल्ती स्वीकार गरिसकेको अवस्थामा उनलाई आन्तरिक वा बाह्य एजेन्सीमार्फत कारबाही गर्ने भन्ने विषयमा आफूहरू छलफलमा रहेको उनीहरूको भनाइ छ । अर्कोतिर, फेल भएका विद्यार्थीलाई ‘ग्रेस लिस्ट’ मा समावेश गरेर दीक्षित गरिएकाले यो सामान्य गल्ती नभएको भन्दै कार्यकारी परिषद् सभाका सदस्य तथा स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुइँटेललगायतले छानबिनको माग गरेका छन् । लुइँटेलले त विश्वविद्यालयका अधिकांश प्राध्यापक र कर्मचारीलाई इमेलमार्फत पत्र लेखेर ध्यानाकर्षण गराएका छन् । गल्ती सुधार गर्दै केयूको ब्रान्डलाई धूमिल हुन दिन नहुने उनको मत छ ।

Leave A Reply

Your email address will not be published.