११ माघ २०८१, शुक्रबार

क्रेडिट पूरा नगरी फेल भएका सात विद्यार्थी दीक्षित

3


काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन प्राप्त निजी क्याम्पस लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट ललितपुरमा भर्ना भएका तर कोही बीचैमा कक्षा छाडेका र कोही तोकेको क्रेडिट पूरा नगरी फेल भएका सात विद्यार्थी दीक्षित भएको विवरण सार्वजनिक भएको हो । उनीहरूलाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अध्यक्षता गरेको दीक्षान्त समारोहबाट दीक्षित गरिएको हो । त्यति मात्रै होइन, परीक्षामा सहभागी नभए पनि उनीहरूलाई २.६५ देखि ३.५१ जीपीएसम्म अंक प्रदान गरिएको छ । केयूले सार्वजनिक गरेको सूचीअनुसार यो वर्ष बीबीएतर्फ १ सय ८७ विद्यार्थी दीक्षित भएका हुन् । तर, बीचैमा कक्षा छाडेको तथा फेल भएका सात विद्यार्थी दीक्षित हुँदा मापदण्ड पुगेका दुई विद्यार्थी भने यो अवसरबाट वञ्चित भएका छन् ।

अर्को दुर्भाग्य, यो प्रकरणमा केयू पदाधिकारी दुई समूहमा देखिएका छन् । उपकुलपति भोला थापा, रजिस्ट्रार अच्युत वाग्ले, परीक्षा नियन्त्रक रामप्रसाद घिमिरे, डिन विजयकुमार केसीले यसलाई मानवीय त्रुटिका रूपमा लिएका छन् । उनीहरूले दीक्षान्त समारोहलगत्तै आन्तरिक छानबिन गरिएको र एक कर्मचारीले ‘डेटा इन्ट्री’ को क्रममा आफूबाट भएको व्यक्तिगत गल्तीबारे पुस ३ मा नै लिखित स्पष्टीकरण दिएको बताएका छन् । ती कर्मचारीले व्यवस्थापनले आफूलाई क्षमा गरिदियोस् भनेर अनुरोध पनि गरेका छन् । आफ्नो गल्ती स्वीकार गरिसकेको अवस्थामा उनलाई आन्तरिक वा बाह्य एजेन्सीमार्फत कारबाही गर्ने भन्ने विषयमा आफूहरू छलफलमा रहेको उनीहरूको भनाइ छ । अर्कोतिर, फेल भएका विद्यार्थीलाई ‘ग्रेस लिस्ट’ मा समावेश गरेर दीक्षित गरिएकाले यो सामान्य गल्ती नभएको भन्दै कार्यकारी परिषद् सभाका सदस्य तथा स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुइँटेललगायतले छानबिनको माग गरेका छन् । लुइँटेलले त विश्वविद्यालयका अधिकांश प्राध्यापक र कर्मचारीलाई इमेलमार्फत पत्र लेखेर ध्यानाकर्षण गराएका छन् । गल्ती सुधार गर्दै केयूको ब्रान्डलाई धूमिल हुन दिन नहुने उनको मत छ ।

Leave A Reply

Your email address will not be published.