बिपी राजमार्ग पुनर्निर्माण गर्न अर्थसँग नौ अर्ब ६६ करोड
![](https://gurukulnews.com/wp-content/uploads/2024/12/IMG_2239-300x178.jpeg)
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोज ११ र १२ गते भारी वर्षासँगैको बाढीपहिरोले भत्काएको बिपी राजमार्ग स्थायीरूपमै पुनर्निर्माण गर्न नौ अर्ब ६६ करोड रुपैयाँ चाहिने भन्दै त्यसका लागि बजेट मिलाउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ। भौतिक पूर्वाधार मन्त्रालयले एक महिनाअघि नै यस्तो प्रस्ताव अर्थमा पठाएको हो। प्रस्तावमाथि अर्थले ठोस निर्णय गरिसकेको छैन।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा भन्छन्, ‘हामीले अर्थ मन्त्रालयमा बजेटका लागि प्रस्ताव पठाएको एक महिना भइसकेको छ। अर्थले विभिन्न माध्यमबाट स्रोत जुटाउने प्रयास गरिरहेको हामीले सुनेका छौँ’, उनले भने। शर्माका अनुसार भत्किएको १२ किलोमिटर सडक स्थायी रूपमा बनाउन करिब नौ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमानसहितको प्रस्ताव अर्थमा पठाइएको हो। यसका लागि चालु आर्थिक वर्षभित्र दुईदेखि साढे दुई अर्ब रुपैयाँको निकासाका लागि अर्थलाई प्रस्ताव गरिएको उनले बताए।
बिपी राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पनि अध्ययन गरिसकेको छ। जाइकाले पनि यस विषयमा प्रतिवेदन अझै नदिएको मन्त्रालयका उच्च कर्मचारी बताउँछन्। मन्त्रालयले सडक पुनर्निर्माणका लागि पनि जाइकासँग सहयोगका लागि प्रस्ताव गरेको छ। मन्त्रालयका अधिकारीहरू जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा छन्। बिपी राजमार्ग जापान सरकारको सहयोगमा बनेको हो।