राष्ट्रपति असदको २४ वर्ष लामो शासन अन्त्य
सिरियमा बसर अल-असदको शासन अन्त्य गर्न मद्दत गर्ने विद्रोही नेता मोहम्मद अल-बसिर सिरियाको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अल-बसिरले विद्रोहीको नियन्त्रणमा रहेको इडलिबको सरकारकाे नेतृत्व गर्दै आएका थिए ।
इस्लामवादी हायात तहरिर अल–साम (एचटीएस) को नेतृत्वामा गत शनिबार विद्रोहीहरूले राष्ट्रपति असदलाई सत्ताच्यूत गर्नुअघि नै इडलिब विद्रोहीको कब्जामा थियो । सिरियाको उत्तर-पश्चिमी भागमा शासन गर्ने ‘सिरियाली मुक्ति सरकार’ को अल-बसिरले नेतृत्व गर्थे । उक्त समूह एचटीएससँग निकट मानिन्छ । एक टेलिभिजन सम्बोधनमा अल-बसिरले आफूले संक्रमणकालीन सरकारको नेतृत्व गर्न मार्च १ सम्म पदमा रहने बताएका छन् ।
बीबीसीका अनुसार उनले सार्वजनिक सेवाहरू पुन: सञ्चालनमा ल्याउन एउटा सानो मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । सिरियाका केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्कन आग्रह गरेसँगै नयाँ निर्णय सार्वजनिक भएको बताइएको छ ।
गत अक्टोबर २४ सम्म टर्कीसँगको सीमा क्षेत्रमा पर्ने इडलिबमात्र विद्रोहीको नियन्त्रणमा थियो । विद्रोही समूहले एक साताअघि दोस्रो ठूलो सहर अलेप्पो कब्जा गरेको थियो । त्यस्तै बिहीबार तेस्रो ठूलो सहर होम्सलाई ‘पूर्ण रूपमा स्वतन्त्र’ पारेको केही घण्टामा एचटीएस नेतृत्वका विद्रोहीहरू राजधानी दमास्कस प्रवेश गरेका थिए ।
अन्ततः शनिबार राति राजधानी दमास्कसमा झन्डा फहराएसँगै राष्ट्रपति असदको २४ वर्ष लामो शासन अन्त्य भएको थियो ।