नेपाल क्रिकेट सङ्घ (क्यान) र त्यसमा सहभागी आठवटा फ्रेन्चाइज टोलीले कति आम्दानी गर्लान् वा कति खर्च बेहोर्लान्
व्यावसायिक स्वरूपको फ्रेन्चाइज क्रिकेटमा सहभागी आठ टोलीहरूमा विदेशी खेलाडीहरू पनि छन्। खेलाडी र टोलीहरूले आफ्नो क्षमता देखाउन थालिसकेका छन्।
एनपीएल नेपाली क्रिकेटको अहिलेसम्मको ठूलो बजेटको कार्यक्रम बनेको छ। प्रतियोगिता कुल १०० करोड रुपैयाँको हुन सक्ने अनुमान छ।
एनपीएल कति बजेटको हो अनि आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) र त्यसमा सहभागी आठवटा फ्रेन्चाइज टोलीले कति आम्दानी गर्लान् वा कति खर्च बेहोर्लान् भन्नेमा धेरैको चासो छ।
क्यानले आधा दर्जनभन्दा बढी स्रोतबाट आम्दानी गर्छ। केही आम्दानी निश्चित भइसकेको छ भने टिकटबाट हुने आयको हिसाब प्रतियोगिता सम्पन्न भइसकेपछि मात्र निश्चित हुने छ।आफ्ना निश्चित स्रोतबाट ३० करोड रुपैयाँजति सङ्कलन गर्ने अनुमान क्यानका पदाधिकारीहरूको छ।
क्यानले पहिलो आम्दानी फ्रेन्चाइट टीम बिक्रीबापत गर्यो। आठवटा टोली बेच्दा उसले १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रुपैयाँ कमायो।
त्यस्तै ब्र्यान्ड लजिक कम्पनीलाई ‘कमर्शल राइट्स’ बेचेर ५ करोड ९२ लाख रुपैयाँ प्राप्त गर्यो।
त्यसबाहेक मैदानमा क्यानले २० प्रतिशत प्रायोजक बोर्ड पनि राखेको छ। क्यानले टिकट बेचेर पनि आय गर्ने छ।
उद्घाटन भएको दिनदेखि नै रङ्गशालामा उर्लिएका दर्शकको उत्साह हेर्दा आयोजकले टिकटबाट राम्रै आम्दानी गर्ने देखिन्छ। यही क्रममा दर्शक ओइरिए क्यानले टिकटबाट ८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ।
त्यसबाहेक क्यानले यूट्यूब, फ्यान कोड र ओटीटीबाट पनि आम्दानी गर्ने छ।