१३ वर्षपछि सिरिया ‘कब्जा’ नजिक विद्रोही, राष्ट्रपति अशद देश छाडेर भागेको दाबी
सिरियामा पछिल्लो ११ दिनयता जारी विद्रोही र सैनिकबिचको संघर्षमा विद्रोही जित नजिक पुगेका छन्। विद्रोही लडाकुहरू तीन शहर कब्जा गरेर अहिले राजधानी दमास्कस पुगेको सिएनएनले जनाएको छ। विद्रोहीले सिरियाको अलेप्पो, होम्स र दारा शहर कब्जा गरेर अहिले राजधानी ‘कब्जा’ गर्न दमास्कस घुसेका हुन्।
मिडिया रिपोर्ट अनसार विद्रोहीको कब्जामा पर्ने डरले राष्ट्रपति बशर अल-असद र उनको परिवारले देश छाडेर रुसमा शरण लिन पुगेको जनाइएको छ। यद्यपि, सिरिया सरकारले असदले देश छाडेर भागेको खबरहरूको खण्डन गरेको छ। संघर्षका कारण अहिलेसम्म ३ लाख ७० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको जनाइएको छ।
विद्रोहीले दारा शहर ७ डिसेम्बर मा कब्जा गरेका थिए। दारा त्यही शहर हो, जहाँ २०११ मा राष्ट्रपति बशर अल-असदविरुद्ध विद्रोहको सुरुवात भएको थियो। दारादेखि राजधानी दमास्कसको दुरी १०० किमो रहेको छ।
पछिल्लो पटक सिरियामा २७ नोभेम्बरमा सिरियाली विद्रोही हयात तहरीर अल शाम र सरकारबिच संघर्ष सुरु भएको थियो। त्यसपछि विद्रोहीले १ डिसेम्बरमा उत्तरी शहर अलेप्पो कब्जा गरेका थिए। साथै उनीहरूले ४ दिनपछि हमा कब्जा गरे। त्यसपछि ७ डिसेम्बरमा दक्षिणी सहर दारा कब्जा गरेर अघि बढेका थिए।