११ माघ २०८१, शुक्रबार

केही समयदेखि मत्थर देखिएको कांग्रेसको संस्थापनइतर समूह कोशी प्रदेशमा सक्रिय भएको छ ।

5


नेपाली कांग्रेसको कोशी प्रदेशमा गुटगत लडाइँ चर्किएको छ । केही समयदेखि मत्थर देखिएको कांग्रेसको संस्थापनइतर समूह कोशी प्रदेशमा सक्रिय भएको छ । संस्थापनइतर समूह अर्थात् डा. शेखर कोइराला समूहले १८ मंसिरमा कोशी प्रदेश सम्मेलन गर्न लागेको छ ।

संस्थापन पक्षसँग सामान्य छलफलसमेत नगरी इतर समूहले सम्मेलनको मिति सार्वजनिक गरेपछि कांग्रेसभित्रको गुटगत लडाइँ सडकमै पोखिने स्थितिमा आइपुगेको छ । १४औँ महाधिवेशनपछि कांग्रेसभित्र विवाद भए पनि समान्नातर संगठनको अभ्यास भने भएको थिएन । तर, अहिले समानान्तर अभ्यास गर्न खोजेको देखिएको छ । इतर समूहले सम्मेलनको मिति सार्वजनिक गरेर कोशी प्रदेशमा गुटगत भेला गर्न लागेपछि संस्थापन पक्ष भने त्यसलाई रोक्ने प्रयासमा लागेको छ । त्यही प्रयास अनुसार नै केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर २२ मंसिरअघि कुनै कार्यक्रम नभएको बताएको छ ।

संस्थापन पक्षको भेला आधिकारिक नभएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रदेश कार्यसमितिलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । ‘२२ मंसिरअघि कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला भनी प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने/नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले उक्त सम्मेलनपूर्व प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी गराइन्छ,’ मुख्य सचिव पौडेलको पत्रमा भनिएको छ । कोइराला पक्षको भेलालाई रोक्न प्रदेश समितिका नेताहरूले लिखित निर्देशन पठाइदिन केन्द्रमा दबाब दिएका थिए ।

त्यसो त, कोइरालाको यो प्रयास कोशी प्रदेशमा पहिलो भने होइन । यसअघि पार्टीको निर्णयविपरीत कोशीमा नयाँ सरकार बनाउन गुटको अभ्यास गरेका थिए । एक वर्षअघि गत असोजमा पार्टीले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको भए पनि कोइराला समूहले विद्रोह गरी एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएको थियो । यद्यपि, कोइरालाले उक्त विद्रोहलाई लामो समय लैजान भने सकेनन् ।

तर, कोशी प्रदेशमा विद्रोहको प्रयास कोइरालाले पटक-पटक गरेका छन् । अहिले पनि त्यही अभ्यासका रूपमा हेरिएको छ । पछिल्ला दिनमा कोइराला समूहभित्र पनि विवाद देखिएको छ । कोइरला र महामन्त्री गगन थापाको सम्बन्ध चिसिएको छ । थापा सभापति शेरबहादुर देउवानिकट भएको चर्चा भइरहेका बेलामा कोइरालाले सम्मेलनको उद्घोष गरेका छन् । कोइराला समूहले १८ मंसिरमा उक्त भेला आयोजना गरेमा थापा र महामन्त्री विश्वप्रकाश शर्माको भूमिका के हुन्छ भने चासोको विषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.