१७ मंसिर २०८१, सोमबार

उद्योगी/व्यवसायी, बैंकरलगायतलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

1

साइबर अपराधमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतीय ‘आपराधिक समूह’ लरेन्स बिस्नोईका नाममा सहयोगीमार्फत बैंकर र व्यवसायीलाई धम्की दिने गरेको खुलेको छ । उद्योगी/व्यवसायी, बैंकरलगायतलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिले नै प्रसाईंको निर्देशनमा उक्त काम गरेको प्रहरी बयानमा खुलाएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक गतिविधि गरेको आरोपमा बुधबार झापा, चारआलीका नवीन प्रधान भनिने ३६ वर्षीय हरिचन्द्र फुयाललाई पक्राउ गरेको थियो । उनलाई सीआईबीले चारआलीबाटै पक्राउ गरी काठमाडौं ल्याएको छ । प्रारम्भिक सोधपुछका क्रममा फुयालले प्रसाईंको निर्देशनमा ‘लरेन्स बिस्नोई समूहको सदस्य हुँ’ भन्दै बैंकर र व्यवसायीलाई फोनमार्फत धम्की दिएको स्वीकार गरेका हुन् ।

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले फुयालमाथि अनुसन्धान भइरहेको बताए । उनका अनुसार फुयालले भारतका आसाम र पानीट्यांकी क्षेत्रमा पुगेर धम्की दिने गरेको भेटिएको छ । सहयोग नगरे र प्रसाईंसँग माफी नमागे ज्यान मार्नेसम्मको धम्की दिने गरेको भन्दै केही व्यवसायी र बैंकर सीआईबी पुगेका थिए । प्रसाईंले केही उद्योगी/व्यवसायी र बैंकरको नामै किटेर सार्वजनिक रूपमै धम्की पनि दिँदै आएका थिए ।

नेपालका नेताहरूले सिंगापुर, कम्बोडिया, मंगोलिया, तुर्कमिनिस्तान, दक्षिण अफ्रिका र केन्यामा पैसा लुकाएको उनको दाबी थियो । यसको प्रमाण जुटाउन आफूले १ करोड साढे ११ लाख रुपैयाँ खर्च गरेको पनि प्रसाईंले दाबी गरेका थिए । त्यसको केही दिनमै भक्तपुरस्थित निवासबाट पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐनले वर्जित गरेको कसुरमा अनुसन्धानका लागि प्रहरीले अदालतबाट अनुमति लिएको थियो ।

प्रसाईमाथि आपराधिक लाभ, किर्ते, बैंकिङ कसुर, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायत विषयमा पनि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार बैंक/वित्तीय संस्थाबाट साढे ५ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएका प्रसार्इंले सर्तअनुसार कर्जा प्रयोग भए/नभएको विषयमा पनि अनुसन्धान अघि बढेको छ ।

Leave A Reply

Your email address will not be published.