सरकारी छात्रवृत्तिमा विद्यावारिधि गर्न विदेश गएका त्रिविका ५३ शिक्षक उतै पलायन
त्रिविका स्थायी शिक्षकहरु वृत्ति विकासका लागि छात्रवृत्तिमा विद्यावारिधि अध्ययन गर्न विदेश जान्छन्, फर्किएर सेवा दिने कबुल पनि गरेका हुन्छन् । तर, नैतिकता र अनुशासन भुल्दै उनीहरु विदेशमै पलायन हुन्छन् । अर्थात् फर्किँदैनन् ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, विभाग, अनुसन्धान केन्द्र र आंगिक क्याम्पसमा अध्यापनरत शिक्षकहरु वृत्ति विकासका लागि छात्रवृत्तिमा एमफिल तथा विद्यावारिधि अध्ययनका लागि विदेशिने तर उतै पलायन हुने क्रम रोकिएको छैन । त्रिविका अनुसार २०७१ देखि २०८१ सम्मको दश वर्षमा ९ सय ४६ शिक्षकहरु छात्रवृत्तिमा अध्ययनका लागि अमेरिका तथा युरोपेली मुलुकहरुमा गएका छन् ।
अझ चिकित्सा शास्त्र तथा इन्जिनियरिङ अध्ययन संस्थान र १० वटा आंगिक क्याम्पसको त त्रिविसँग विवरण नै छैन । तीमध्ये ५३ शिक्षकहरु अध्ययन पुरा गरे पनि स्वदेश फर्किएका छैनन् । विदेशमा अध्ययन पूरा गरी स्वदेश फर्किएर सेवा दिने सर्तसहित कबुलियतनामा गरे पनि शिक्षकहरु उतै पलायन हुनुले नैतिकतामाथि नै गम्भीर प्रश्न उब्जिएको प्राध्यापकहरु बताउँछन् ।
शिक्षकहरुले जतिवर्ष अध्ययन बिदा लिएको हो, त्यति नै समय विश्वविद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था त्रिविमा छ । तर पनि शिक्षकहरुले आफूले गरेका कबुल भुलेर सेवाको सट्टा राजीनामा पत्र पठाउने गरेको पाइन्छ । त्यसो त विश्वविद्यालयले यस्ता शिक्षकलाई कारबाही नगरेको पनि होइन ।
अध्ययन बिदा सकेपछि नफर्किने शिक्षकलाई खाइपाई आएको तलबभत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने कानुनी प्रावधान छ । यस्तो अनुशासनहीन काम गर्नेहरुलाई तलब असुल उपरदेखि बर्खास्तसम्मका कारबाही गरिएको विश्वविद्यालयले जनाएको छ ।