वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीहरुको ट्र्यापमा
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीहरुको ट्र्यापमा पर्ने गरेको बताएका छन् ।
मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई बैंकहरुले ऋण नदिँदा उनीहरु ‘डेब्ट ट्र्याप’मा पर्ने गरेको उल्लेख गरे ।
उनले वेदैशिक रोजगारीमा गएका श्रमिकहरु ऋणको भारमा पर्ने र बाकसमा फकिर्नुपर्ने गम्भिर स्थिति सिर्जना भएको भन्दै वर्तमान सरकार यसका लागि काम गरिरहेको दाबी गरे ।
श्रम बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने गरेको भएपनि एक लाखलाई मात्र रोजगारी दिनसक्ने अवस्था रहेको उनले बताए ।
‘वैदेशिक रोजगारीमा गएका श्रमिकहरु दुई वटा ट्र्यापमा पर्ने गर्नुभएको छ । एउटा, डेब्ट ट्र्याप । यो भनेको मिटरब्याजको जुन कुराहरु उठिरहेका छन् । उनीहरु मिटरब्याजीहरुको ट्र्यापमा परेका छन् । अर्को, डेथ ट्र्याप । हाम्रा श्रमिकहरु त्यहाँ रोजगार गर्नको लागि गएका हुन् उनीहरु लडाईँ लड्न गएका होइनन् । लड्न गएका भए त्यहाँ वीरगति प्राप्त गरे भन्ने कुरा हुन्थ्यो । वैदेशिक रोजगारीमा गएका श्रमिकहरु बाकसमा किन फर्किरहेका छन् ? यो एउटा अहं प्रश्न हो । जसको समाधान गर्नुपर्ने आजको आवश्यकता हो’ श्रममन्त्री भण्डारीले भने ।
उनले सरकारले मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रमिकहरुलाई बिना धितो ऋण दिने नीति लिएको जानकारी दिए ।