मंसिर १४ मा लुम्बिनीमा तेस्रो दीक्षान्त समारोह
भैरहवा —लुम्बिनी विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आउँदो शुक्रबार लुम्बिनीमा हुने भएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा उक्त समारोह तथा १७ औं सभाको बैठक सम्पन्न हुने विश्व विद्यालयले मंगलबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २ सय ८९ विद्यार्थी दीक्षित हुनेछन् । विश्वविद्यालयले पहिलो पटक मानार्थ विद्यावारिधि उपाधि समेत प्रदान गर्दैछ । बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरिने भएको छ ।
- दीक्षान्त समारोहमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्ण पदकबाट सम्मान गरिने रजिस्ट्रार आचार्यले बताए ।