३० पदमा नियुक्तिका लागि २ सय ५८ जनाले दरखास्त दिए
त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा डिन, क्याम्पस प्रमुख र सहपरीक्षा नियन्त्रक बन्न २ सय ५८ जना प्राध्यापकले आवेदन दिएका छन् । ८ संकाय/संस्थानका डिन, १७ वटा क्याम्पस प्रमुख र ७ सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि त्रिविद्वारा गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको थियो ।
समितिका सचिवालयहरूले सोमबार दिएको जानकारीअनुसार डिन, क्याम्पस प्रमुख, सहपरीक्षा नियन्त्रक, योजना र अनुसन्धानको निर्देशकलगायत ३० पदमा नियुक्तिका लागि २ सय ५८ जनाले दरखास्त दिएका हुन् ।
छुट्टाछुट्टै समितिका अनुसार आवेदनमाथि रुजु र छानबिनको प्रक्रिया जारी छ । आवेदकहरूमध्येबाट नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ का आधारमा प्रतिस्पर्धा गराएर नियुक्ति दिइने उपकुलपति केशरजंग बरालले बताए । ‘छनोट समितिले नियुक्तिका लागि सिफारिस गरेपछि कार्यकारी परिषद्ले डिन, क्याम्पस प्रमुखलगायतका पदमा नियुक्ति दिन्छ,’ बरालले भने ।