डा. रुइतको टोलीले यति धेरै उचाइमा पुगेर मोतियाबिन्दुको शल्यक्रिया गरे
समुद्र सतहबाट ४३२० मिटर उचाइमा सिमसिम बर्सिरहेको पानी र चिसो सिरेटोबाट छेकिएर पालभित्र वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइत आँखामा हुने मोतियाबिन्दुको शल्यक्रिया गरिरहेका थिए ।हजारौं आँखा शिविर गरिसकेका डा. रुइतको टोलीले यति धेरै उचाइमा पुगेर मोतियाबिन्दुको शल्यक्रिया गरेको यो पहिलो थियो ।
१२ वर्षे शे–डुग्ड्रा महोत्सवका अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठानले शे–फोक्सुन्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्कातोङसोङ गाउँपालिकासँगको सहकार्यमा भदौ १६ देखि १८ सम्म आँखा शिविर गरेको थियो । शिविरमा ६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भयो । शिविर सञ्चालन हुनु केही साता अघिदेखि नै डोल्पा जिल्लाका सबै पालिकामा आँखा अस्पतालको टोली पुगेर मोतियाबिन्दुको समस्या पत्ता लगाउन स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको थियो । १२ सय ९२ महिला र एक हजार ८३ पुरुष गरी कुल २३ सय ७५ जनाको स्क्रिनिङ गर्दा आँखा शिविरमा शल्यक्रिया गर्न मिल्ने ६१ जना मोतियाबिन्दुका बिरामी फेला परेका थिए ।