आफ्नो पहिचानसँग जोडिएको महत्त्वपूर्ण छोनाम पर्वलाई चेपाङ समुदायले हरेक वर्ष भदौ २२ मा मनाउने गर्दै आएकाे छ
चेपाङ समुदायले यस वर्षको छोनाम पर्व गोरखामा मनाउने भएको छ
भदौ २२ मा सामूहिक रूपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुल अनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि भदौभरि न्वागी मनाउने परम्परा छ । ‘हामीले भदौ २२ मा न्वागी पर्व राष्ट्रिय रूपमा मनाउँदै आएका छौं,’ अध्यक्ष चेपाङले भने, ‘हाम्रो जातिमा पनि विभिन्न थर–कुल हुन्छन्, कुल अनुसार भदौको पूर्णिमादेखि महिनाभरि मनाउने चलन छ ।’
चेपाङ समुदायले पितृलाई नचढाइ र पूजाआजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, पिंडालु, निवुवालगायत अन्न र फलफूलले भूमि र पितृलाई चढाउने गरिन्छ । न्वागीका दिन पान्देले पूजाआजा गरेपछि चेपाङहरूले नयाँ फलफूल र खाद्यान्न खाने गर्छन् । चेपाङ भाषामा छोनाम र अरु भाषामा न्वागी भनिने यो पर्वमा देशभरका अगुवा चेपाङहरू एकै स्थानमा भेला भएर राती धुमधामका साथ मनाउँछन् । लामो समयदेखि जंगली कन्दमूल खाएर पेट भर्दै आएका चेपाङहरूले चेपाङ झाँक्रीको ढ्यांग्रोसँगै नयाँ अन्न र फलफूल खाने गर्छन् ।
वर्ष दिनमा कम्तीमा पनि नौ महिना जंगली कन्दमूल खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ मा मिठोमसिनो खाएर मुख फेर्ने गर्छन् । भिरपाखामा बस्ने यो जातिले पाखोपखेरामा लगाएको मकैलगायत अन्न र फलफूल भदौमा पाक्ने भएका कारणले भदौमा छोनाम (न्वागी) पर्व धुमधामसँग मनाउने गरेका हुन् ।