वीरगञ्जकी विना जयसवाल बनिन राप्रपाबाट समानुपातिक सांसद
२७ मंसिर । गत स्थानीय तहको निर्वाचनमा वीरगञ्जको उपमेयमा पराजित विना जयसवाल प्रतिनिधीसभा सदस्य सांसद् बन्न सफल भएकी छन् ।
राप्रपाले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका ७ जना सांसदको नाममा जयसवाल पनि परेकी हुन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ निवासी जयसवाल गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा राप्रपाकै तर्फबाट वीरगञ्ज महानगरको उपमेयरकी उम्मेदवार बनेकी थिइन् । उक्त चुनावमा जयसवालले ५ हजार ९८८ मतका साथ तेश्रो स्थानमा सिमित भएकी थिइन् ।
राप्रपाले प्रतिनिधिसभातर्फ जयसवालसँगै पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा र अनिषा नेपालीको नाम आयोगमा पठाएको छ ।
केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङदेनलाई दिइएको थियो ।
राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश नम्बर १ मा ४, मधेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद् छानेको छ।