मोहम्मद हत्या काण्ड
काठमाडौंको गोठाटारमा सोमबार साँझ लाल मोहम्मदको गोली हानेर हत्या भयो।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा पेस्तोल सहित आएका अज्ञात व्यक्तिले मोहम्मदलाई लखेटी–लेखेटी गोली हानेका थिए। गाडीबाट बाहिर निस्किए लगत्तै उनलाई पछाडिबाट एक व्यक्तिले गोली हानेको सिसिटिभी फुटेजमादेखिन्छ।
गोली प्रहार हुन थालेपछि मोहम्मद जोगिन प्रयास गरिरहेका थिए। उनी बा ६ च ५१५२ नम्बरको गाडीलाई एक चक्कर लगाएपछि ढलेकाथिए।
चार राउन्ड गोली प्रहार हुँदा उनको टाउको, कोखा र तिघ्रामा लाग्यो। गोली प्रहारबाट गम्भीर घाइते भएका उनी सडकमै ढले।
आफ्ना बुवा घर अगाडि सडकमा गोली हानेको देखेपछि उनकी छोरी एक तलामाथिबाट हामफालेकी थिइन्। उनी तल झरेपछिमोहम्मदमाथि गोली प्रहार गर्ने व्यक्ति मोटरसाइकल चढेर भागेका थिए। छोरीले गोली चलाउने समूहलाई लखेट्दै केही पर सम्म पुगिन्।तर मोटरसाइकल चढेर उनीहरू भागे।
साँझपख घटना भए पनि त्यहाँ तत्काल छरछिमेकी जम्मा भएनन्। कसैको सहयोग पाएको भए गोली चलाउने व्यक्ति घटना लगत्तै पक्राउपर्ने प्रहरी अधिकारी बताउँछन्।
गोली लागेर गम्भीर घाइते भएका मोहम्मदलाई उपचारको लागि नजिकैको शंकरापुर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भवनभएपछि थप उपचारका लागि उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगे पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
सोमबार साँझ गोली चलेर मोहम्मदको हत्या भए पनि प्रहरीले अहिलेसम्म हत्यामा संलग्न रहेकालाई नियन्त्रणमा लिन सकेको छैन।कसले र किन उनको हत्या गरेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनाको खबर पाएपछि घटनास्थलमा प्रहरी पुगेको थियो। घटनास्थलबाट मोहम्मदलाई गोली प्रहार गरेको पेस्तोल पनि प्रहरीले बरामदगरेको छ। घटनास्थलमा गोलीका खोका पनि भेटिएका थिए।
यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोलेगरिरहेको छ।
घटनाको अनुसन्धान र हत्या गर्ने व्यक्तिको खोजी भइरहेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए।
मृतकको विगत पनि खोतल्नेलगायत अनुसन्धानकै क्रम चलिरहेकोले यसबारे थप बताउन नमिल्ने उनको भनाइ छ।
घटनालगत्तै प्रहरीले केही व्यक्तिसँग सोधपुछ गरिरहेको छ। केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक सोधपुछपनि गरिरहेको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको घटनामा संलग्नता छ कि छैन खुलिसकेको छैन।
प्रहरीले गोली हान्ने व्यक्तिको हुलिया खुलिसकेको बताएको छ।तर ती व्यक्ति अझै प्रहरी नियन्त्रणमा आएका छैनन्।
काठमाडौंमै गोली प्रहारबाट हत्या भएपछि यो विषयमा छुट्टै समिति बनाएर अनुसन्धान गर्ने तयारी पनि प्रहरीको छ। विभिन्न इकाइकाअनुसन्धानकर्तालाई समेटेर घटनाको अनुसन्धान अघि बढाउन लागेको एक प्रहरी अधिकृतले जानकारी दिए।
‘परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय र सिआइबीको छुट्टाछुट्टै टोलीले अनुसन्धान सुरू गरिसकेका छन्। एउटा समिति बनाएरअनुसन्धान गर्ने तयारीमा छौं। आज समिति गठन हुन्छ र संयुक्त अनुसन्धान अघि बढ्छ,’ उनले भने।
गोली लागेर मृत्यु भएका मोहम्मद गोठाटारमै गार्मेन्टको व्यवसाय गरिरहेका थिए। उनी पछिल्लो समय व्यवसायी भनेर चिनिए पनि उनीआपराधिक पृष्ठभूमिकै व्यक्ति भएको प्रहरीले बताएको छ।
उनको आपराधिक पृष्ठभूमि बुझ्नका लागि १५ वर्षअघि फर्किनुपर्छ। २०६४ साल असार २० गते बलराम पटुवा नाम गरेका एक व्यक्तिकोकाठमाडौंको अनामनगरस्थित धोबीखोलामा गोली प्रहारबाट हत्या भएको थियो।
उक्त हत्या आरोपमा लाल मोहम्मद पक्राउ परेका थिए। यस घटनामा अरू पनि पक्राउ परेका थिए। हत्या आरोपमा पक्राउ परेकामोहम्मद १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए।
त्यसयता उनी गार्मेन्टको व्यवसाय गरिरहेका छन्। त्यतिबेला मोहम्मद नक्कली भारतीय नोटको कारोबार गर्ने गिरोहमा सामेल थिए। उनीत्यसबेला अर्का कारोबारी इल्ताफ हुसेन अन्सारीसँग काम गर्थे।
अन्सारी पछिल्लो समय २०७७ सालमा काठमाडौंमा भेटिएको साढे १४ किलो नक्कली सुन प्रकरणमा मुछिएका थिए। त्यतिबेला उनकोसाथबाट आधा किलो सुन पनि बरामद भएको थियो। बाँकी चाँदीमा सुनको जलप लगाएको अवस्थामा फेला परेको थियो।
उनीहरूकै समूहले बलराम पटुवाको हत्या गरेको खुलेको थियो।
त्यो घटना हुनुअघि नक्कली नोटको कारोबार युनुस अन्सारीले गर्थे। उनी २०६५ सालमा पक्राउ परेका थिए।
केन्द्रीय कारागारमा रहेका उनलाई २०६७ सालमा कारागार भित्रै गोली हानेर हत्या गर्ने प्रयास भएको थियो। तर उक्त घटनामा उनीबचेका थिए। उनको कुममा गोली लागेको थियो। गोली हानेको आरोपमा प्रहरीले मञ्जित सिंहलाई पक्राउ गरेको थियो।
यसैगरी २०६६ साल माघ २४ मा स्पेसटाइम नेटवर्क तथा च्यानल नेपाल टेलिभिजनका प्रमुख जमिम शाहको हत्या भयो। लाजिम्पाटकोफ्रान्सेली दूतावासअगाडि सडकमा भारतीय समूहले गोली हानेर उनको हत्या गरेको थियो। उनी पनि नक्कली नोटकै कारोबारमा संलग्नभएकाले मारिएको प्रहरी अधिकारीको भनाइ छ।
त्यसैगरी २०६८ असोज ९ मा इस्लामिक संघका महासचिव फैजान अहमदको पनि हत्या भएको थियो। उनको पनि घन्टाघर क्षेत्रमा हत्याभएको थियो।
उनीहरू सबैको हत्या हुनुको एउटै कारण नक्कली नोटको कारोबार भएको सिआइबीका एक अधिकारीले बताए।
सोमबार मोहम्मदको हत्या भएको पनि यसैको सिलसिला भएको सिआईबी स्रोतले दाबी गरेको छ।
‘युनुस अन्सारीलाई गोली हानेको घटना, टेलिभिजन सञ्चालक जमिम शाह, फैजानको घटनाहरू लगायत छन्। यी सबै एकअर्कासँगसम्बन्धित छन्,’ ती सिआईबीका उच्च अधिकारीले भने, ‘पात्र पनि सम्बन्धित नै छन्। घटनाहरू पनि सम्बन्धित नै छन्। अन्त्यमा योजोडिने नक्कली नोटको कारोबारसँगै हो।’
अहिले भएको मोहम्मदको हत्या पनि भारतबाटै केही व्यक्ति आएर गरेको हुन सक्ने प्रहरी स्रोत दाबी गर्छ। गोली हानेको फुटेज हेर्दापेशेवर व्यक्तिकै संलग्नता जस्तो देखिने प्रहरीले दाबी गरेको छ।
पछिल्लो समय उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न थिए वा थिएनन् भन्ने खुलेको छैन। तर संगठित रूपमै आपराधिकक्रियाकलाप गरिरहेका उनीहरूले अरूलाई पनि परिचालन गर्ने गरेको प्रहरीको भनाइ छ।
‘उनले व्यक्तिगत रूपमा आपराधिक क्रियाकलाप सञ्चालन गरेका थिए वा थिएनन् अहिले नै भन्न सकिन्न। संगठित अपराधकोपराकाष्ठा नै हुने गरेको छ,’ ती अधिकारीले भने।
भारतीय नक्कली नोटको कारोबार गर्ने गिरोहहरू रअको निगरानीमा हुने गरेको पनि ती प्रहरी अधिकारीले बताए। भारतीय नक्कलीनोटको कारोबारले भारतीय बैंकिङ प्रणालीमा समेत असर पर्ने हुँदा कारोबारीविरूद्ध राज्य नै लाग्ने दाबी उनको थियो।
त्यसैगरी यस्ता संगठित अपराधका घटनामा दुई वटा कारणले हत्या हुने गरेको प्रहरी अधिकारीको जिकीर छ।
‘एउटा आन्तरिक प्रतिद्वन्द्वीका कारण हुन्छ। जस्तै तस्कर–तस्करबीच कुनै विषयमा विवाद भयो। यहीँ मोहम्मदको पनि आ–आफ्नैप्रतिद्वन्द्वीका आपसी मतभेदका कारण जेल परेका हुन्,’ ती अधिकारीले भने, ‘उनीहरूबीच कसले धेरै कमायो भन्ने विषयमा पनि एकखालको विवाद हुने भयो।’
उनले अगाडि थपे, ‘अर्को कारण एउटा ग्याङले अर्को ग्याङलाई सकाउने उद्देश्यले हो। त्यसका लागि भाडाका सुटर प्रयोग गर्न सक्छन्।यसमा यो कारणले पनि हुन सक्छ अर्को आन्तरिक प्रतिद्वन्द्वका कारण पनि हुनसक्छ।’