२५ आश्विन २०८१, शुक्रबार

सत्ता गठबन्धनभित्र सिट बाँडफाँडका लागि जसपाले अघि सार्यो तिन विकल्प

पहिचानका मुद्दा आजीवन छोड्दिन-संघीय परिषद् अध्यक्ष अशोक राई

101

झापा, २२ भदौ।  जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले सत्ता गठबन्धनभित्र सिट बाँडफाँडका लागि आफुहरुले तीन वटा विकल्प दिएको बताएका छन् ।
जसपा जिल्ला समन्वय समिति झापाले हिजो विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष राईले आफुहरुले तीनवटा विकल्प दिएर सत्तारुढ दलहरुबीच सिट बाँडफाँडको प्रयास गरिरहेको बताए ।
पहिलो विकल्पमा १६५ संघको निर्वाचन क्षेत्र र ३३० प्रदेशको निर्वाचन क्षेत्र गरी ४९५ सिटमै चित्तबुझ्दो ढंगले बाँडफाँड गर्ने, दोस्रोमा संघमा चित्तबुभ्दो तरिकाले बाँडफाँड गर्ने र प्रदेशमा आपसी प्रतिस्पर्धा गर्ने र तेस्रो विकल्पमा आफूहरुलाई जति सिट अरुले छोड्छन् त्यति सिट नै आफुहरुले पनि छोडेर गठबन्धन गर्ने रहेको उनले बताए ।
‘तीनवटा विकल्प मध्ये कुनमा यहाँहरु सहमत हुनुहुन्छ, हामी त्यो विकल्पमा जान तयार छौं भन्ने कुरा हामीले गरेका छौं,’ उनले भने, ‘उहाँहरुले होइन सबै ४९५ मा नै मिलाउने हो, अरु विकल्प अहिलेलाई नगर्नुस् भन्नुभएको छ ।’
सो क्रममा उनले आफुहरुले दश प्लस एक प्रदेशको संघीयता, पहिचान, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कहिल्यै पनि नछोड्ने समेत बताए ।
उनले यी विषय कांग्रेस र कम्युनिष्ट पार्टीहरुले सम्बोधन गर्न नमानेकाले नै आफुहरुले पार्टी निर्माण गरेको प्रष्ट पारे ।
सो क्रममा उनले आफुले आजीवन पहिचानको आन्दोलनमा साथ दिने पनि बताए ।उनले पछिल्लो समयमा नेपालमा पहिचानको स्वीकार्यता वृद्धि भइरहेको पनि बताए ।
जसपा झापा जिल्ला अध्यक्ष दिपेनवाला राईको अध्यक्षतामा आयोजित भेलामा जसपा केन्द्रीय कार्यकारिणी सदस्य सुशीला श्रेष्ठ, राजनीतिक समिति सदस्य रमेश राई, राजनीतिक समिति सदस्य निर्मला तावा लिम्बू, राजनीतिक समिति सदस्य नित्यनन्द ताजपुरिया, केन्द्रीय सदस्य राधा थापा लगायतका नेताहरुको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.