काँग्रेसमा ‘फिप्टी-फिप्टी ‘अभियान ; भुपेन्द्रजंग शाही
आगामी निर्वाचनमा युवा सहभागिता बढाउन नेपाली काँग्रेसका युवा नेताहरूले ‘फिप्टी–फिप्टी‘ अभियान सुरु गरेका छन्।अभियानअन्तर्गत युवा नेता भुपेन्द्रजंग शाहीले ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
काँग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन उक्त अभियान सुरु गरिएको शाहीले बताए । अभियानअन्तर्गत युवा नेताहरूले शीर्ष नेताहरूमाथि निर्वाचनमा सिट बाँडफाँटमा ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट दिनुपर्ने दबाब बढाएका छन् । बाँकी ५० प्रतिशतटिकट वितरण ५० वर्षमाथि उमेर भएका नेतालाई हुनुपर्ने उनीहरुको माग छ ।
नेता शाहीका अनुसार युवाको सहभागिता बढाउन, पार्टीमा परिवर्तनको सन्देश दिन फिप्टी फिप्टीको अभियान सुरु गरेको हो । उनले भने, ‘यसले युवा मतदाताको आकर्षण बढाउछ । युवाको ऊर्जा, क्षमता र जोस जाँगरलाई पार्टी र देश निर्माणमा सदुपयोग पुग्छ । फिप्टी–फिप्टी अभियानले काँग्रेसलाई बलियो, सशक्त, गतिशील बनाउँछ ।‘
आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउने अभियानको उद्देश्य रहेको उनको भनाइ छ ।