सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
१० जेठ, काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका दुईजना शिक्षकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा अनुसन्धानका लागि दुई शिक्षकलाई हिरासतमा राख्न अनुमति दिएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेल विरुद्ध अनुसन्धानका लागि अदालतले अनुमति दिएपछि अब विस्तृत छानविन सुरु हुनेछ ।
मंगलबार दुई शिक्षक विरुद्ध विद्यार्थीले कलेजमा नारावाजी र प्रदर्शन नै गरेका थिए । उनीहरुले ‘आफूहरुसँग नजिक भए कलेजको शूल्क’ तिर्नु नपर्ने भन्दै प्रलोभन देखाएको विद्यार्थीहरुको आरोप छ । प्रदर्शनमा सहभागी एक विद्यार्थीका अनुसार दुवैजनाले विद्यार्थीलाई अश्लिल सन्देशहरु पनि पठाउने गरेका थिए ।