चुनावले छोएर पनि नछोएको जीवनहरु….
उनिहरुलाई चिन्ता छ त केवल एक छाक खाना र एक सरो नानाको
मोरङ्, बैशाख २६। ५१ बर्षिय लोक बहादुर दर्जिलाई चुनावको चटारो उत्तिकै छ, जति विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता अनि स्वतन्त्र उम्मेद्वार र तीनका समर्थकहरुलाई छ । बेलबारी नगरपालिका वडा नं ११ निवासि दर्जिलाई आजकल श्वास फेर्ने फुर्सद छैन, चुनाव जो लागेको छ । हुन त उनी न कुनै राजनीतिक दलका नेता हुन्, न कार्यकर्ता नै, न त कुनै उम्मेद्वारको समर्थक नै , उनी त एक सिटिसफारी चालक हुन् । भाउन्ने चौकमा आफ्नो सिटि सफारीमा राखिएको नेपाली कांग्रेसको झण्डा झिक्दै गरेका दर्जिलाई हामिले सोध्यौ तपाई कांग्रेस हो ? उनले भने; “ म त मजदुर हु, आफु र आफ्नो परीवार पाल्न सफारी चलाउछु ।” अनि झण्डा त कांग्रेसको छ नि भन्ने प्रश्नमा उनले हास्दै जवाफ दिए, “मेरो त काम हो । जसले पैसा दिएर जहा लान्छ त्यहि जाने । लगभग सबै पार्टिको चुनावि प्रचार, घरदैलो कार्यक्रम र र्यालिमा गैसके । ”
त्यहि भेटिए अर्कै पार्टिको झण्डा आफ्नो सफारीमा फहराउदै गरेका अर्का सिटि चालक योगेन्द्र याक्खा। केही बर्ष मात्र भयो याक्खा वैदेशिक रोजगारीबाट स्वदेश फर्केको । मोरङ्गको बेलबारी नगरपालिका वडा नं १० निवासि याक्खा आफै पनि यो निर्वाचनमा पहिलोपटक मतदान गर्दैछन् । रोजगारीको शिलशिलामा स्वदेश भन्दा विदेश नै बढि बसाई भएपछि अहिलेसम्म मतदान गर्न पाएका छैनन् उनले। विभिन्न राजनीतिक दलका झण्डा बोकेर कार्यक्रममा हिडिरहेका उनलाई राजनीति, राजनीतिक दलहरुको बारेमा खासै थाहा छैन ।जसले जिते पनि राम्रो काम गरुन् , देश मै रोजगारी पाईयोस्, आफु जस्तै आफ्ना छोराहरुले आधा जिवन विदेशमा काट्न नपरोस् भन्ने याक्खा चाहान्छन् । उनको चार जनाको परिवारको उनि एक्लो कमाउने मान्छे हुन् । त्यसैले पनि उनको लागि त जति धेरै चुनावी कार्यक्रममा हिड्न पायो त्यतिनै राम्रो ।
सुन्दरहरैचा निवासि अटो चालक दिपक लामिछाने ५६ बर्षका भए ।आजकल उनी विहान देखी बेलुकै सम्म व्यस्त छन् । खाना खानेसम्मफुर्सद छैन उनलाई । नियमित समयमा भन्दा चुनावको बेला दोब्बर कमाई हुन्छ, उनी यसैमा सन्तुष्ट छन् । उनी भन्छन्;”अरुबेला मरेरदिनमा ५ सय देखि ७ सय रुपैया सम्म कमाई हुन्थ्यो तर अहिले दिनको १५ सय रुपैया हुन्छ ग्राहक कुर्न पनि पर्दैन ।“
कुनै एउटा चुनावि प्रचार कार्यक्रममा गएको आधा दिनको १ हजार रुपैया र पुरा दिनको १५ सय रुपैया पाउछन् सिटि, अटो रिक्साचालकहरुले । अहिले सिटी सफारी/अटो चालकहरुलाई यस्तै खाले चुनावि चटारो छ । यस्तै छ चुनावले छोएर पनि नछोएको उनिहरुको जीवन । दक्ष उम्मेदवार, उम्मेदवारका एजेण्डा, आफ्ना मुद्दाहरु, आफुले गर्ने मतदानको महत्व सबैबारे बेखबर उनिहरुलाईचिन्ता छ त, केवल एक छाक खाना र एक सरो नानाको ।
अब आउने नेतृत्वले यी निम्न वर्गिय समुदायको जीवनशैलि परिवर्तनका लागि के के योजना बनाएका छन् ? प्रत्येक पटक चुनावका बेलामात्र गरिब जनताको घर पुग्ने नेताहरुको एजेण्डामा गरिबका समस्या र त्यसको समधानका बिषय परे कि परेनन् नेता ज्यु ??