हराएको जहाजको खोजी कार्य स्थगित
अझै भेटिएन जहाज
१५ जेठ । आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्क विहीन भएको ट्वीन अटर विमान बेलुकी ९ बजेसम्म भेटिएको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका कारण हालसम्म स्थिति अज्ञात छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित गरिएको छ ।
अन्धकार र प्रतिकुल मौसमका कारण नेपाली सेनाले खोजी तथा उद्दार कार्य अहिलेलाई रोकेको उनले बताए । सिलवालले भने, ‘भोलि बिहानैबाट स्थल तथा हवाई दुवै मार्गबाट पुनः खोजी कार्य सुरु हुनेछ ।’
उनका अनुसार सेनाको खोजी तथा उद्दार टोली अहिले जोमसोम फर्किएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माकाअनुसार उद्दार टोलीका सदस्यको सुरक्षाका लागि पनि अहिले टोली फर्काउनुपरेको हो । अधिकारीहरुका अनुसार विमान अन्तिम पटकजोमसोम टावरसँग १० बजेर ७ मिनेट जाँदा घोडेपानी भन्ने स्थानबाट सम्पर्कमा आएको थियो ।