सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २० असारमा नाउपाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रदेशसभामा सात जना सासंद भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिँदै छन् ।पार्टीको संसदीय दलको बैठकले प्रदेशका मुख्यमन्त्री शाहले आफ्ना मन्त्रीलाई बिना कारण बर्खास्त गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले विश्वासको मतको पक्षमा मतदान गर्नका लागि ह्विप जारी गरेका छन् । बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको थियो । प्रदेश संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले सबै प्रदेशसभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।
सरकार टिकाउन २७ जनाको समर्थन आवश्यक रहेकोमा कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको समर्थन मुख्यमन्त्री शाहलाई यथावत् छ । जसका कारण एमालेको समर्थन रहेसम्म मुख्यमन्त्री शाहको कुर्सी सुरक्षित छ ।सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नु पर्नेछ,’ संविधानको धारा १८८ को उपधारा २ मा व्यवस्था छ ।