पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको अध्यक्ष हुने गरी सक्रिय राजनीतिमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको अध्यक्ष हुने गरी सक्रिय राजनीतिमा फर्किएको बताएकी छन् । पत्रकार जगदीश खरेलसँगको कुराकानीमा भण्डारीले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेर नै सक्रिय राजनीतिमा आएको बताएकी हुन् ।
अन्तर्वार्तामा भण्डारीले भनिन्, ‘तपाईंले भनेको कुरामा सत्यता छ । ११औँ महाधिवेशन तोकिएको छैन । तर यो सार्वजनिक बहसको विषय भइसक्यो । मेरो कुरा त्यही लाइनतिरै जान्छ । समय आउनुपर्यो नि ।’
तर, अन्तर्वार्तामा भण्डारीले एमाले अध्यक्ष ओलीसँग अझै पनि सम्बन्ध सुमधुर नभएको संकेत गरेकी छन् । भण्डारीले आफू निरन्तर संवादमा रहेको दाबी गरेकी छन् । र, ती संवादमा आफ्नो धारणा राखेको बताइन् ।
त्यसरी आफ्नो चाहना र धारणा राख्दा ओलीले हार्दिकतापूर्वक लिएको उनको दाबी छ । तर, आफूले पार्टी सदस्यता नवीकरण गर्न लागेको भन्दै अध्यक्ष ओलीले ठीकै छ मात्रै भनेको पनि उल्लेख गरेकी छन् ।
पार्टीमा जिम्मेवारी दिने वा लिने कुरा भने कुनै छलफल नभएको पनि भण्डारीको भनाइ छ । त्यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई सम्मानजनक स्वागत गरिएको सन्दर्भमा आफूलाई पनि त्यसरी नै स्वागत र सम्माजनक अवस्थामा जिम्मेवारी दिने आश गरेको बताएकी छन् ।
भण्डारीले आफू प्रधानमन्त्रीको लागि पनि खुला रहेको बताएकी छन् । समयले कहिले कुन जिम्मेवारी लिँदा राम्रो हुन्छ त्यहीअनुसार अघि बढ्ने पनि भण्डारीले बताइन् ।
उनले एमाले ठीक ढंगले नचलेको पनि बताइन् । पार्टी विभाजन भयो र गुट बनेको उनको भनाइ छ । आफूले त्यसको अन्त्य चाहेको उनको भनाइ छ ।
उनले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा हुन सक्ने बताइन् । मिल्ने मित्रहरूबीच प्रतिस्पर्धा हुने उनको भनाइ छ । विगतमा पनि ओली र झलनाथ खनाल, ओली र माधव नेपालबीच प्रतिस्पर्धा भएको थियो । आफ्नो चाहना भने सर्वसम्मत अध्यक्ष चयन होस् भन्ने लागेको उनले बताइन् ।