आफ्नै रेकर्ड तोड्दै कामीरिता

काठमाडौँ । हिमपर्वतारोही कामीरिता शेर्पाले आफ्नो रेकर्ड ब्रेक गर्दै ३१औं पटक सगरमाथा आरोहण गरेर नयाँविश्व रेकर्ड कायम गरेका छन् । शेर्पाले मंगलवार विहान ३१औं पटक सगरमाथा सफल आरोहण गरेर नयाँ विश्व रेकर्ड कायम गरेका हुन् ।
शेर्पाले २०८१ वैशाख ३० गते २९औं पटक र त्यसको १० दिनपछि २०८१ जेठ ९ गते ३०औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटकपाइला राख्ने विश्व कीर्तिमान आरोही कायम गरेका थिए ।
इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी बनाएका ५५ वर्षीय कामीरिता मंगलबारबिहान ४ बजे सगरमाथा आरोहण गरेका थिए । उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए ।
सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । उनी १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा लागेका थिए ।
कामीरिता सगरमाथा केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार भन्दा अग्ला हिमालहरू ४५ पटक चढिसकेका छन् । उनले एकै सिजनमा पाँच पटक सगरमाथा आरोहण गरिसकेका छन् ।