१७ जेष्ठ २०८३, आईतवार

दशैं सस्तो बजार

8

काठमाडौँ  । विगतका चाडपर्वमा जस्तो यो वर्ष खाद्यान्नको अभाव र मूल्यवृद्धिको समस्या नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाबी गरेको छ । दसैँ, तिहार र छठलक्षित गरी उपभोक्तालाई राहत दिन कम्पनीले देशभरका ४५ जिल्लाका १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । कम्पनीका अनुसार, चाडपर्वका लागि चामल, चिनीलगायत खाद्यान्न पर्याप्त मौज्दातमा रहेको र सुपथ पसलमार्फत छुटमा बिक्री गरिने भएकाले उपभोक्ताले अभाव झेल्नु नपर्ने जनाएको छ । चाडपर्वमा खाद्यान्नको खपत अत्यधिक बढ्छ । चामल, चिनी, तेल, घ्यू, माछा, मासुलगायतका खाद्यान्न अभाव हुने तथा महँगी बढ्ने समस्याले चाडपर्व नै खल्लो बनाइदिने गरेको छ । दुई वर्ष अघिको चाडपर्वमा चिनीको अभाव भएको थियो । उपभोक्ताले घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता थियो । चिनी खरिदका लागि धादिङ, नुवाकोटदेखि काठमाडौँ आउनुपरेको थियो ।

सरकारले चाडपर्वमा खाद्यान्न अभाव हुन नदिन समयमै खाद्यान्न जोहो गर्न थालेको छ । त्यसैगरी महँगी बढ्न नदिन कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

यो वर्षको चाडपर्वमा कुनै पनि खाद्यान्न अभाव नहुने कम्पनीको बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाले दाबी गरे ।

कम्पनीसँग हाल १ लाख ८६ हजार ५०८ क्विन्टल चामल मौज्दात छ, जुन चाडपर्वको माग धान्न पर्याप्त रहेको उनको भनाइ छ । ‘यो मौज्दातले जति बाँड्दा पनि पुग्छ, देशभरका जनताले खाद्यान्न अभाव झेल्नुपर्दैन,’ उनले रातोपाटीसँग भने ।

चिनीको अभाव पनि नहुने उनको भनाइ छ । कम्पनीसँग हाल करिब ९ हजार क्विन्टल चिनी मौज्दातमा छ । साल्ट ट्रेडिङ कर्पोरेसनसँग पनि करिब १६ हजार क्विन्टल मौज्दात रहेकाले बजारमा चिनीको अभाव सिर्जना नहुने दाबी छ । विगतका वर्षहरूमा जस्तो उपभोक्ताले लाइन लागेर चिनी किन्नुपर्ने अवस्था यसपटक नआउने थापाले स्पष्ट पारे ।

Leave A Reply

Your email address will not be published.