अमेरिकामा बिक्री हुने सबै आइफोनहरु भारतमा बनाउने एप्पलको तयारी


काठमाडौं : एप्पलले अमेरिकामा बेच्ने सबै आइफोनहरुको एसेम्बली भारतमा सार्ने तयारी गरेको छ । एप्पलले अर्को वर्षसम्ममा यो काम सुरु गर्ने विचार गरिरहेको फाइनान्सियल टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारस्परिक शुल्क नीतिका कारण एप्पल चीनबाट टाढा हुन लागेको हो ।
ट्रम्पको शुल्क नीतिले एसियाली अर्थतन्त्रलाई सबैभन्दा बढी असर पारेको छ । एप्पलले भारतमा स्थिररुपमा क्षमता निर्माण गरिरहेको छ । भारतमा फक्सकन र टाटा इलेक्ट्रोनिक्सले आइफोन एसेम्बल गर्ने सम्झौता गरेका छन् । मार्चसम्म, भारतमा एप्पलको सबैभन्दा ठूलो निर्माता फक्सकनले १ अर्ब ३१ करोड डलर बराबरको स्मार्टफोन बेचेको थियो । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो मासिक बिक्री हो ।
टाटा इलेक्ट्रोनिक्सको पनि आइफोन निर्यात अघिल्लो महिनाको तुलनामा ६३ प्रतिशतले बढेर मार्चमा ६१ करोड २० लाख डलर पुगेको छ । अप्रिल महिनाको सुरुमा ट्रम्पको भन्सार शुल्क घोषणा पछि, एप्पलले चीनमा लगाइएको उच्च शुल्कबाट बच्न भारतमा निर्मित आइफोनहरु अमेरिकामा निर्यात गरेको थियो । इन्टरनेसनल डाटा कर्पोरेसनका अनुसार सन् २०२४ मा एप्पलको २३२.१ अर्ब बराबरको विश्वव्यापी आइफोन बिक्रीको लगभग २८ प्रतिशत अमेरिकाले ओगटेको थियो ।
एप्पलको भारतमा उत्पादनको प्रयास आपूर्ति शृङ्खलालाई विविधीकरण गर्ने रणनीतिको एक हिस्सा हो । तर कम्पनीको लक्ष्य सन् २०२६ को अन्त्यसम्ममा अमेरिकामा वार्षिकरुपमा बेचिने सबै ६ करोडभन्दा बढी आइफोनहरु भारतबाट प्राप्त गर्नु रहेको छ । यो योजनाको अर्थ एप्पलले अब भारतमा आइफोन उत्पादन दोब्बर बनाउनेछ । एप्पलेले चीनमा विगत २ दशकभन्दा बढी समयदेखि लगानी गरिरहेको थियो । जसको मद्दतले कम्पनीको मूल्य ३ ट्रिलियन डलर पुगेको छ l