नवौं राष्ट्रिय खेलकुदमा ज्यान गुमाएका निसिम थापालाई मानार्थ स्वर्णपदक
३ कात्तिक । नवौं राष्ट्रिय खेलकुदमा खेलकै क्रममा दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्णपदक प्रदान गरिएको छ ।
उनको असोज ३० गते प्याराग्लाइडिङ अन्तर्गत क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्दैगर्दा दुर्घटनामा परी मृत्यु भएको थियो ।
गोरखा स्थायी घर भई हाल पोखरा–१० बस्दै आएका थापा नेपाल आर्मीसँग करारमा अनुबन्ध भएर नवौं राष्ट्रिय खेलकुदमा सहभागी थिए ।
खेलकै क्रममा ज्यान गुमाएका उनलाई बिहीबार मानार्थ स्वर्ण पदक हस्तान्तरण गरिएको हो । पोखरा रंगशालामा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले थापाको पदक उनका काका भेनिस थापालाई हस्तान्तरण गरे ।
दुर्घटनापछि प्याराग्लाइडिङ प्रतियोगिता बिचमै रोकिएको थियो । त्यसैले तयारी खेलकै नतिजालाई आधार मानेर विजेता घोषित गरियो ।