हर्क साम्पाङलाई संघीय सांसद सुदन किरातीको साथ, श्रमदान गर्न धरान आइपुगे
किराती सदनमा मात्र हैन मैदानमा पनि श्रमदान गर्न पछि नपर्ने नेताको रुपमा चिनिन्छन्
साउन २०, धरान। धरान उपमहानगरपालिकामा भइरहेको महाश्रमदान अभियानमा श्रमदान गर्न संघीय सांसद सुदन किराती पनि धरान आइपुगेका छन् ।
मेयर हर्क साम्पाङको अगुवाईमा धरान उपमहानगरले संचालन गरिरहेको श्रमदान महाअभियानलाई सहयोग गर्ने उद्देश्यले धरान आएको सांसद किरातीले फोन सम्बादमा जानकारि दिएका हुन् ।
भोजपुर जिल्लाबाट निर्वाचित संघीय सांसद तथा नेकपा (माओवादी केन्द्र) का नेता किरातीले श्रमदानको विषयमा सदनमा पनि चर्को आवाज उठाउँदै आउने नेताको रुपमा परिचित छन् । उनि सदनमा मात्र हैन मैदानमा पनि श्रमदान गर्न पछि नपर्ने नेताको रुपमा चिनिन्छन् । भोजपुरको विभिन्न विकास निर्माणसँगै जनतासँग विभिन्न क्षेत्रमा श्रमदान विगतदेखि नै गर्दै आएका छन । उनले कोरोना महामारिको संक्रमणकालमा भोजपुरमा श्रमदान मार्फत नै क्वारेण्टाइन निर्माण गरेका थिए । त्यसै गरि सडक निर्माणमा पनि उनले विगतमा धेरै स्थानमा जनतासँग श्रमदान गर्दै आएका थिए ।
यो अभियानमा पहिले नै जोडिने मन हुँदा हुँदै समयको अभावले भौतिक रुपमा जोडिन नपाएको उनी बताउछन् । भोली शनिबार श्रमदानमा सहभागी जनाउन धरान आइपुगेको सांसद किराती भन्छन्-जनतालाई यसरी विकासमा नजोडे समृद्धको नाराले सार्थकता पाउदैन ।
उनले श्रमदान गर्न धरान आएको आफ्नो आधिकारिक फेसबुकमार्फत समेत जानकारि गराएका छन् । उनले लेखेका छन्- ” म पनि धरान श्रम गर्न आउँदैछु । श्रमले नै मातृभूमि सजाउँ, श्रम गर्ने संस्कृती स्थापित गरौँ । मेयर हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरले संचालन गरिरहेको श्रम अभियानमा म पनि सहभागी भएर ऐक्यवद्धता जनाउन आउँदैछु । धरानवासी महान जनसमुदायलाई भोलि शनिवार कामको मैदानमा नै भेट्नेछु । भ्रष्टाचारको विरुद्ध निर्मम बनौ, विकासलाई युद्धको रुपमा घोषणा गरौ ।”