२५ आश्विन २०८१, शुक्रबार

सुन्दरहरैंचामा नेकपा माओवादी केन्द्रको चुनावी घोषणापत्र सार्वजनिक

66

मोरङ, २० बैशाख । सुन्दरहरैंचालाई देशकै नमूना नगर बनाउन सहज हुने गरी सिर्जनात्मक कामलाई प्राथमिकता दिने नेकपा माओवादी केन्द्रले जनाएको छ । आज पार्टीको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको लागि सुन्दरहरैंचा नगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रतिबद्धतापत्रको अक्षरशः कार्यान्वयन हुने जनाइएको हो ।

‘घोषणापत्रको कार्यान्वयन नभएमा हामी नालायक पात्र हुनेछौँ,’ आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो भनाइ राख्दै उपमेयर पदका उम्मेद्वार नवराज चापागाईँले भने, ‘यो घोषणापत्र जस्ताको तस्तै कार्यान्वयन गर्न प्रतिबद्ध छौँ । घोषणापत्रमा उल्लेख गरेका योजना पूरा गरेनौँ भने हामी पार्टीका नेता र कार्यकर्ता हुनेछैनौँ ।’

सुन्दरहरैंचामा सिर्जनात्मक काम गरी नयाँ आयाम थप्दै उत्कृष्ट नगर बनाउन आफू लागिपर्ने उनले बताए ।

कृषिमा मात्र आश्रित ६० वर्षमाथिका किसानलाई किसान पेन्सन कार्यक्रम समावेश गर्ने तथा सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गरिने घोषणापत्रमा उल्लेख छ । पूर्वाञ्चल विश्वविद्यालयमा तत्काल १ सय बेडको र पछि ३ सय बेडको शिक्षण अस्पताल सञ्चालन गरिने तथा सुन्दरहरैंचा नगरपालिकामा विवाह गरेर आउने विपन्न परिवारका बुहारीलाई निःशुल्क उच्च शिक्षा र सीप विकास तालीम दिई रोजगार बनाइने घोषणापत्रमा उल्लेख छ ।

तत्कालीन र दीर्घकालीन महत्वका विषयहरु कृषि, मानव संशाधन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायतका १९ शीर्षकमा माओवादीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै पार्टीको केन्द्रीय समिति सदस्य गोपी अछामीले प्रतिबद्धता कार्यान्वयनमा खबरदारी गर्नु सञ्चारकर्मीलगायत सबै पक्षको अधिकार भएको बताए । गठबन्धनभित्र वडा तहसम्म नै गठबन्धन गर्न अझै कसरत भइरहेको र माओवादीले ४ वटा वडामा दाबी गरेको उनले जनाए । भोलि सकिने वडा तहका कोणसभापछि यसमा छलफल गरेर टुङ्गो लाग्ने उनले जानकारी दिए ।

प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा पार्टीको प्रदेश कमिटी सदस्यहरु अरुण सुन्दास, लता न्यौपाने, सीता कडरिया, राम कार्की, नगर अध्यक्ष दुष्यान्त भट्टराईलगायत उपस्थित थिए ।

Leave A Reply

Your email address will not be published.