नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय
काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक धारणा र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ।
शनिबार बसेको संसदीय दलको बैठकले आर्थिक वर्ष २०८२ २०८३ को नीति तथा कार्यक्रममा देशका प्राथमिकतालाई केन्द्रमा राखी सुशासन प्रवर्द्धन गर्दै आर्थिक समृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको भूमिकालाई प्रभावकारी र सशक्त बनाउने दिशामा निर्देशित रहेको देखिएको भन्दै सुझावसहित समर्थन गर्ने निर्णय गरेको हो।
बैठकले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रम सम्पन्न हुने गरी आगामी आर्थिक बर्षको बजेट तयार गर्न सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले बताए।
बैठकले संसद र समितिमा विचाराधीन विधेयकहरू अघि बढ्न ढिलाई भएको निष्कर्ष निकाल्दै गम्भीर भएर विधेयक अघि बढाउनका लागि क्रियाशील हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको उनले बताए।
बैठकले शिक्षकहरूसँग भएको सहमतिअनुसार असार १५ भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए।