२८ आश्विन २०८१, सोमबार

यदि कुनै विहान….

318

✒️ पुरण कुलुङ राई

यदि कुनै विहान
म बिना बिउँझियौ भने
नखोज्नु मलाई यता कतै…
म त…
आफ्नै दुनियाँमा यायाबर जस्तै हराइरहेको छु।
तिम्रो आँखाबाट नेपथ्यमा कतै गुमनाम..
म त…
आफ्नै अनुभुतीहरु भित्र आफैलाई समेटि रहेछु ।।

नखोज्नु पाकेको अन्नहरुमा परेको घामहरु मा
नखोज्नु कोमल ती बर्षाहरुमा
म त…
यदि कुनै विहान म बिना बिउँझियौ भने
नखोज्नु मलाई बिहानिपखका
ती कोमल तारहरुमा
यो अँध्यारो देशमा तारा नउदाएको बर्षौं बतिसक्यो।

यदि कुनै विहान म बिना बिउँझियौ भने
नखोज्नु मलाई ती चिहानहरुमा

नरुनु
मेरो चिहान माथि उभिएर
म त्यहाँ छैन,
चिहानहरुमा को नै पो निदाउन सक्छ र ??
यदि कुनै विहान म बिना बिउँझियौ भने
र मलाई खोज्छौ नै भने
छामि हेर्नू आफ्नै मुटु
यदि त्यो धड्किरहेको रहेछ भने
हो म त्यहीँ मुटु भित्र छु
जुन मुटु लिएर आज तिमी बाँचिरहेछौ।

Leave A Reply

Your email address will not be published.