१७ जेष्ठ २०८३, आईतवार

यो दरबार नेपालकै नमूनामध्येको एक संरचना हो ।

13

 

नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको इतिहास शताब्दी पुरानो छ । यो दरबार नेपालकै नमूनामध्येको एक संरचना हो ।आजभन्दा ११७ वर्ष अघि अर्थात् सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहदरबारको निर्माण सुरु गरेका थिए ।करिब एक वर्ष भित्रमा नै निर्माण सम्पन्न भएको बताइने यो दरबार सुरुमा चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा बनाएका थिए । २९ वर्षे शासनकालमा उनी २८ वर्षसम्म यहीँ बसेका थिए । वि.सं.१९८२ वैशाख १ मा प्रधानमन्त्री चन्द्र शमशेरले यही दरबारबाट दासप्रथा उन्मूलनका लागि ऐतिहासिक घोषणा गरेका थिए ।युरोपेली शैलीमा बनाइएको यस दरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्तिहरू छन् । यसै कारण यसको नाम सिंहदरबार रहन गएको हो ।सिंहदरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । यसको वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ ।डिजाइनहरूले सिहंदरबारको डिजाइन गर्न पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल मेन्सन र बारोक जस्ता यूरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट ‘रिफ्रेन्स’ लिएका थिए।दरबारको निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवन प्रधानमन्त्रीको सरकारी आवासको रूपमा २ करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए ।वि.सं.१९८६ मङ्सिरमा उनको मृत्युपछि पद्म शमशेर बाहेक (जो आफ्नै ठूलो दरबारमा बस्थे) अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो । सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए । २००७ सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे । २००९ सालमा उनलाई दरबार छोड्न आदेश दिइएपछि यसलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो ।

 

Leave A Reply

Your email address will not be published.