१७ जेष्ठ २०८३, आईतवार

३४ दिनदेखि जारी विद्यार्थी आन्दोलन फिर्ता

18

 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र सङ्कायका चारवटा केन्द्रीय विभागमा शुल्क समायोजन गर्नुपर्ने मागसहित ३४ दिनदेखि जारी विद्यार्थी आन्दोलन फिर्ता भएको छ ।

‘चर्को शुल्क’विरुद्धको आन्दोलनमा संलग्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रि.वि. जिल्ला समिति र विश्वविद्यालय प्रशासनबीच मंगलबार भएको छलफलबाट शुल्क समायोजनसहित चार बुँदे सहमति भएपछि आन्दोलन फिर्ता गरिएको हो ।

छलफल त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनालको उपस्थितिमा सम्पन्न भएको थियो । सहमतिअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागहरूमा लिइँदै आएको शुल्क घटाएर रु. १,१०,००० (एक लाख दस हजार) कायम गरिनेछ । नयाँ शुल्क दर हालकै दोस्रो सेमेस्टरदेखि लागू गरिने जनाइएको छ ।

त्यसैगरी त्रिविको नियमानुसार विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति सुविधा कार्यान्वयन गर्ने, विभागहरूमा आवश्यक भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्दै जाने पनि सहमतिको हिस्सा बनेको छ । सहमति अनुसार आन्दोलनरत विद्यार्थीहरूले मंगलबारदेखि नै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।

विद्यार्थी पक्षबाट ममता श्री जोशी (इन्चार्ज), प्रविण दाहाल (आन्दोलन कमान्डर), शिवराज भट्ट (कार्यवाहक अध्यक्ष), टिकेम्प चम्लागाईं ‘मनिष’ र कृष्णप्रसाद ओली (सचिव तथा आन्दोलन संयोजक) छलफलमा सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.